हङकङ : गोरखा ट्रेल ब्लेजर मार्च २४ मा हुने, रसिला तामाङ पनि हुनेछिन् दौडमा

हङकङ : गोरखा ट्रेल ब्लेजर मार्च २४ मा हुने, रसिला तामाङ पनि हुनेछिन् दौडमा

मगेन्द्र राई
चैत ७, २०८० बुधबार १६:५९, हङकङ

हङकङमा हरेक वर्ष नेपालीद्वारा आयोजना हुने गरेको गोरखा ट्रेल ब्लेजर दौड प्रतियोगिता यही मार्च २४ मा हुने भएको छ।

प्रतियोगिताको यो पाँचौँ संस्करण हो। आउँदो आइतबार हुने प्रतियोगिताको अहिले अन्तिम तयारी भइरहेको आयोजक संस्थाका प्रवक्ता देवराज राईले नेपालखबरलाई बताए।

गोर्खा सेमेस्ट्री ट्रस्ट र चाइल्ड वेलफेर स्किमको संयुक्त आयोजनामा हरेक वर्ष यस प्रतियोगिता आयोजना हुने गरेको छ।

यस पटक कार्यक्रम आयोजनामा केही प्राविधिक कठिनाइको सामना गर्नुपरे पनि विगतका वर्षहरूमाझैँ उत्साहपूर्ण रहने विश्वास आफूलाई रहेको प्रवक्ता राई बताउँछन्।

विगतमा १२ र २६  किलोमिटर दूरीको कोर्समा प्रतिस्पर्धा हुने गरेकोमा यसपटक भने  १२ र ३० किलोमिटर दूरीको प्रतियोगिता गराइने उनले बताए।

जस अनुसार दौड न्युटेरिटिजअन्तर्गत लाउसुइ हेङ रिजर्भियरबाट आइतबार बिहान ९ र ९:३० बजे सुरु भई सोही स्थानमा समाप्त हुनेछ।

‘हरेक वर्ष नेपालीको उल्लेख्य सहभागिता रहँदै आएको थियो। यस पटक पनि अहिलेसम्मको परिस्थिति हेर्दा अउत्साहजनक नै छ। त्यसमाथि दौड आइतबार परेकोले राम्रै सहभागिता रहनेमा आशावादी छौँ,’ प्रतियोगितामा नेपालीको सहभागिता कस्तो छ? भनी नेपालखबरले राखेको जिज्ञासामा राईले भने, ‘हामीलाई भने तीन हप्ता मात्र तयारी समय भएकोले निकै दौडधूपमा छौँ।’

उनी थप्छन्, ‘यो पटक नेपालकी एसियन च्याम्पियन रसिला तामाङ र हङकङका स्थानीय नम्बर वान धावक यामनाथ (नुगोयाम) को सहभागिताले प्रतियोगितामा थप रौनक थपिनेछ।’

रसिला तामाङ

टाइफुन र भारी वर्षाका कारण दौड रुट आसपास पहिरो गई मर्मत भइरहेको कारण सरकारले नियमित रुटमा दौडन अनुमति नदिएकोले रुट परिवर्तन गर्नुपरेको आयोजकले बताएको छ।

सधैँ फेब्रुअरीमा हुने गरेको प्रतियोगिता किन मार्चमा सारियो नि? भनी नेपालखबरले सोधेको प्रश्नमा राईले भने, ‘हामीले समयमै आवेदन दिएका थियौँ तर सरकारले ढिलो गरी अनुमति दिँदा प्रतियोगिता गर्मी महिनामा गर्ने कि अहिले नै गर्ने भन्ने दुबिधा भयो। तर, सुरक्षाको हिसाब जाडो महिनामै उचित लागेकोले तीन हप्ताको छोटो समयमै प्रतियोगिताको तयारी  गरेका हौँ।

हालसम्म दौडका लागि झन्डै १७ राष्ट्रका दुई सय प्रतियोगीले आफ्नो नाम दर्ता गराइसकेको राई बताले बताए। उक्त प्रतियोगितामा करिब सय स्वयंसेवक खटिनेछन्।

विश्व शान्ति स्थापनार्थ विभिन्न युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरूको सम्झना र सम्मानमा गोर्खा ट्रेलब्लेजर सन् २०१८ देखि हङकङमा आयोजना गर्न थालिएको हो।

हङकङको न्यु टेरिटोरिजअन्तर्गत लाउसुइ हेङ रिजर्भियर कन्ट्री ट्रेलबाट सुरु भएर क्लाउडी हिल हुँदै विल्सन ट्रेल, निडल हिलको उकालो छिचोल्ने यस दौड प्रतियोगिताबाट हङकङको भौगोलिक सुन्दरताको आनन्द लिन सकिन्छ।

यस दौडमार्फत आयोजकले ५ लाख हङकङ डलर सङ्कलन गर्ने लक्ष्य राखेको छ। ट्रेल रन प्रतियोगिताको लागि हङकङ निकै उर्बरभूमि मानिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .