हङकङ अब्जर्भेटरीले बिहीबार टाइफुन संकेत नम्बर १ जारी गर्ने भएको छ। उष्णकटिबन्धीय चक्रवात ट्रामी हङकङबाट ८ सय किलोमिटरको दूरीभित्र आइपुग्ने पूर्वानुमानसहित अब्जर्भेटरीले बिहीबार (२४ अक्टोबर) मा स्ट्यान्डबाइ संकेत नम्बर १ जारी गर्ने बताएको हो।
‘हालको पूर्वानुमान अनुसार, फिलिपिन्सको पूर्वमा रहेको उष्णकटिबन्धीय चक्रवात ट्रामी बिस्तारै तीव्र हुँदै बिहीबार (२४ अक्टोबर) देखि शुक्रबार (२५ अक्टोबर) बिहान हङकङको ८ सय किलोमिटरभित्र प्रवेश गर्नेछ,’ मंगलबार बिहान मध्यान्ह १२ बजे जारी अब्जर्भेटरीको बुलेटिनमा उल्लेख छ, ‘अब्जर्भेटरीले त्यसपछि स्ट्यान्डबाइ संकेत नम्बर १ जारी गर्नेछ।’
स्थानीय सञ्चारमाध्यमका अनुसार हङकङमा पहिलोपटक मौसमविद्ले दुई दिनअघि नै आँधीको संकेत घोषणा गरेका हुन्।
अब्जर्भेटरीको हालको पूर्वानुमान अनुसार, ट्रामी बिस्तारै तीव्र हुनेछ र हेनान टापुको वरपर पश्चिम सर्नेछ। ट्रामी र उत्तरपूर्वी मनसुनको संयुक्त प्रभावअन्तर्गत यो कडा हावा बन्नेछ र दक्षिणी चीनको तटमा शुक्रबारपछि केही वर्षा समेत हुनेछ।
यसपछि ट्रामीको चाल र स्थानीय हावाको अवस्था परिवर्तनको आधारमा टी३ संकेत जारी हुन सक्ने समेत अब्जर्भेटरीले जनाएको छ।
‘ट्रामीको चाल र स्थानीय हावाको अवस्था परिवर्तनको आधारमा अब्जर्भेटरीले कडा हावा संकेत नम्बर ३ जारी गर्ने आवश्यकताको मूल्याङ्कन गर्नेछ, ’ बुलेटिनमा भनिएको छ, ‘सबैले मौसमको परिवर्तित स्वरुपको जानकारी लिनु उचित हुनेछ।’
Shares

प्रतिक्रिया