हङकङबाट दक्षिण कोरियाको बुसानका लागि उडेको एयर बुसानको उडानले अवतरणका क्रममा समस्या भोगेको छ।
स्थानीय समयअनुसार शुक्रबार बिहान २:१९ बजे हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट ११२ यात्रु बोकेर बुसानतर्फ प्रस्थान गरेको एयरबस ए३२१, उडान नम्बर बीएक्स३९२ मा समस्या देखिएको हो।
पाइलटले ल्यान्डिङ गियरको स्थिति पुष्टि गर्न नसकेपछि उक्त समस्या भोग्नुपरेको हो।
हङकङबाट बिहान २:१९ बजे छुटेको जहाज बिहान ६:२० बजे बुसान आइपुग्ने तालिका थियो। यद्यपि, उडान उपकरणहरूमा खराबीका कारण पाइलटले ल्यान्डिङ गियर सही रूपमा छ कि छैन भनेर यकिन गर्न सकेनन्। जसले गर्दा गो-अराउन्ड आवश्यक पर्यो।
एयर ट्राफिक कन्ट्रोलरले भिडिओबाट हेरी ल्यान्डिङ गियरमा समस्या नभएको सुनिश्चित गरेपछि विमान बिहान ६:३२ बजे अवतरण गरेको थियो।
विमान निर्धारित समयभन्दा १२ मिनेट ढिलो बुसान गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको थियो।
एयर बुसानका एक प्रतिनिधिले बताएअनुसार ल्यान्डिङ गियरले सही तरिकाले काम गरेको थियो। तर, उपकरण प्यानलले बायाँ र दायाँ ल्यान्डिङ गियरको तैनाथी बीचको समयमा भिन्नता देखाएको थियो।
यो घटना यस्तो समयमा भयो, जेजु एयर दुर्घटना धेरैको मस्तिष्कमा ताजै छ। यो दुर्घटनाबाट दक्षिण कोरियाले ठुलो क्षति बेहोरेको छ। पाइलटले कुनै रिस्क नमोली गो-अराउन्ड रोजे।
घटनालाई उपकरण प्यानलसँग जोडिएको प्रणाली सेन्सरमा त्रुटिको आशंका गरिएको छ। जसको थप अध्ययन हुँदैछ।
पछिल्ला उडानहरूको लागि प्रतिस्थापन विमानको व्यवस्था गरिएको छ। सेवामा फर्कनुअघि एयरबसको पूर्ण निरीक्षण गरिने कम्पनीले जनाएको छ। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया