हङकङको काइताकस्थित हङकङ बाल अस्पतालको नाक, कान, घाँटी (ईएनटी) विभाग अनिश्चितकालको लागि बन्द भएको छ।
अस्पताल प्राधिकरणका अनुसार जनशक्ति अभावका कारण विभागका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको हो।
बन्दबारे शुक्रबार पुष्टि गर्दै प्राधिकरणले भनेको छ- विभागको सेवा एक एससोसिएट कन्सल्ट्यान्ट, एक रेजिडेन्ट र एक पार्ट टाइम कन्सल्ट्यान्ट सम्मिलित टोलीद्वारा प्रदान गरिएको थियो। तर, हाल केवल एक जनाले मात्र काम गरिरहेकोले जनशक्ति अभावका कारण बन्द गर्नुपरेको हो।
‘तीन जनामध्ये एक बिरामी छन् र अर्कोले राजीनामा दिएका छन्,’ प्राधिकरणका प्रवक्ताले भने, ‘काइताक अस्पतालको नाक, कान र घाँटी सेवा नोभेम्बरदेखि नै प्रभावित भएको हो।’

काइताकमा रहेको अस्पतालको सेवा बन्द भएपछि बिरामीहरूलाई अन्य सार्वजनिक स्वास्थ्य संस्थामा रिफर गरिएको प्रवक्ताले बताए।
‘पाँच सयभन्दा बढी बिरामीलाई बुकिङको व्यवस्था गरी अन्य सार्वजनिक अस्पतालमा रिफर गरिएको छ,’ प्रवक्ताले भने।
सेन्टर काउलुनस्थित प्राधिकरणका अस्पतालहरूको समूहले चिकित्सा उपचार वा आपत्कालीन शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई समन्वय र सहयोग प्रदान गर्ने समेत प्रवक्ताले बताएका छन्।
अस्पतालको सेवा बन्दबाट बिरामी र तिनका अभिभावकलाई पर्न गएको असुविधाप्रति अस्पताल प्राधिकरण दु:खी भएको पनि प्रवक्ताले भनेका छन्।
‘जनशक्तिको स्थितिमा सुधार भएपछि सेवा पुनः सुरु हुने अस्पताल प्राधिकरण अपेक्षा गर्दछ,’ प्रवक्ताको थप कथन छ। (एससीएमपी)
Shares

प्रतिक्रिया