हङकङमा दिलमाया फाउन्डेसनले सांगीतिक कार्यक्रम गर्ने

हङकङमा दिलमाया फाउन्डेसनले सांगीतिक कार्यक्रम गर्ने

सन्तोष तामाङ
फागुन ९, २०८१ शुक्रबार १७:२७, हङकङ

हङकङमा दिलमाया मेमोरियल फाउन्डेसनले सांगीतिक साँझ गर्ने भएको छ।

फाउन्डेसनले इस्टर होलिडे तथा नेपाली नयाँ वर्षको अवसर पारेर आगामी २० अप्रिलमा सांगीतिक कार्यक्रम गर्ने भएको हो।

बिहीबार जोर्डनस्थित चुम्लुङ हिममा आयोजित जानकारी सभामा बोल्दै फाउन्डेसनका संस्थापक खुसी तावा लिम्बुले उक्त जानकारी गराएका हुन्।

उक्त अवसरमा संस्थापक लिम्बुले आमा दिलमाया लिम्बुको नाममा सन् २०१६ मा ५ लाखको अक्षय कोष खडा गरी संस्था स्थापना गरिएको सम्झिए।

ब्लु ओसन रेस्टुरेन्टमा गरिने उक्त सांगीतिक साँझमा नेपाल तथा हङकङका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।

मिडिया पर्सनालिटी भूमिका फियाकले सञ्चालन गर्ने तय भएको कार्यक्रममा नेपालबाट संगीतकार तथा गायक बादल लिम्बु, गायिकाहरू सुनिता थेगिम, दीपा सुहाङ लगायतका कलाकार आउने फाउन्डेसनले बताएको छ।

त्यस्तै, कार्यक्रममा हङकङका नेपाली कलाकारहरू कुसुम काम्बाङ, शाक्तिम योङ लगायत आधा दर्जन कलाकारले प्रस्तुति दिनेछन्।

फाउन्डेसनले कार्यक्रममार्फत उठेको रकमबाट अक्षयकोष स्थापना गरी नेपालको ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका लागि खर्च गरिने जनाएको छ।

फाउन्डेसनले यसअघि पनि नेपालका ग्रामीण भेगका सामाजिक कार्यमा उपस्थिति जनाइसकेको संस्थापक लिम्बु बताउँछन्।

उनका अनुसार पाँचथरको याङवरक गाउँपालिका-५, थर्पुमा सिरिसे विद्यालय भवन पुनर्निर्माण, धादिङको ज्वालामुखी गाउँपालिकाको बराहकालिका उच्च माध्यमिक विद्यालयलाई कम्युटर र अन्य शैक्षिक सामग्री प्रदान आदि संस्थाले गरेका कामका उदाहरण हुन्।

सिरिसे विद्यालय पुनर्निर्माणका लागि एनआरएनए यूकेसँगको सहकार्यमा ३५ लाख रुपैयाँ लागतमा दिलमाया भवन निर्माण भएको छ।

दिलमाया फाउन्डेसन स्थापनाको उद्देश्य नै नेपालका ग्रामीण भेगमा शिक्षा र स्वास्थ्यको पहुँचमार्फत समुदायको सशक्तीकरण गर्ने रहेको लिम्बु बताउँछन्।

सामाजिक कार्यकै लागि च्यारिटी शो आयोजना गरी उठेको रकम समाजको हितमा खर्चने योजनामा संस्था रहेको उनले बताए।

जानकारी सभामा बताइएअनुसार कार्यक्रमको टिकट मूल्य तीन प्रकारका रहनेछन्- भीभीआईपी, भीआईपी र सामान्य। भीभीआईपीको एक हजार, भीआईपीको पाँच सय र सामान्यको तीन सय हङकङ डलर रहनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .