हङकङमा १६ सय अनुदानित फ्ल्याटका लागि अप्रिलमा आवेदन लिइने

हङकङमा १६ सय अनुदानित फ्ल्याटका लागि अप्रिलमा आवेदन लिइने

हेमा एमरल्ड परियोजना (हङकङ हाउजिङ सोसाइटी)


नेपालखबर
चैत १३, २०८१ बुधबार १५:४२, हङकङ

हङकङ हाउजिङ सोसाइटी (एचकेएचएस) अन्तर्गतका दुई परियोजनाले १६०४ अनुदानित फ्ल्याट बिक्रीका लागि आवेदन खोल्ने भएका छन्।

बजार मूल्यभन्दा ३० प्रतिशत कम र सबैभन्दा सस्तो इकाइ हङकङ डलर २३ लाखबाट सुरु हुने यी फ्ल्याटको अप्रिलमा आवेदन लिन लागिएको हो।

क्वुनतङको एन्डरसन रोडमा रहेको हेमा एमरल्ड र फ्यानलिङको जकी क्लब रोडमा अवस्थित हेमा फ्याबको फ्ल्याट बिक्रीका लागि १ देखि १४ अप्रिलसम्म आवेदन लिइनेछ।

जसको नतिजा जुनमा घोषणा हुनेछ भने वर्षको चौथो त्रैमासिकमा फ्ल्याट छनोट सुरु हुनेछ।

हेमा एमरल्डले ३०२ देखि ६६४ वर्गफिट प्रयोगयोग्य क्षेत्रफलका ९६० फ्ल्याट बिक्री गर्नेछ। जसमध्ये ८१ प्रतिशत दुई शयनकक्ष इकाइका हुन् जसले ४१९ देखि ५५२ वर्ग फिट ओगटेका छन्।
यी फ्ल्याटको मूल्य २४ लाख ९० हजार देखि ६३ लाख ७० हजार हङकङ डलर रहेको छ। जसको प्रतिवर्गफुट मूल्य ८,०८४ देखि ९,६६९ हङकङ डलर पर्दछ।

यस्तै, हेमा फ्याबले ६४४ युनिट बिक्री गर्नेछ। जसको प्रयोगयोग्य क्षेत्रफल ३०२ देखि ६१६ वर्गफुटको बीचमा छ। जसमध्ये ७८ प्रतिशत ३८८ देखि ४७६ वर्गफुटका दुई शयनकक्ष भएका युनिट हुन्।

यी फ्ल्याटको मूल्य २३ लाख हङकङ डलरबाट सुरु भएर ५४ लाख ७० हजार हङकङ डलर पर्नेछ। जसको प्रतिवर्गफुट मूल्य ७,५८२ देखि ८,८८१ हङकङ डलर हुनेछ।

हेमा एमरल्डको लागि प्रतिवर्गफुट औसत बिक्री मूल्य हङकङ डलर ८,९६० र हेमा फ्याबको हङकङ डलर ८,२६० रहेको छ। दुवै परियोजनाको मूल्य बजार दरको ७० प्रतिशतमा कायम गरिएको छ।

दुई परियोजनाले हरियो फारम र सेतो फारम आवेदकहरूबीच ४:६ कोटा अनुपात अपनाउने छन्।

हरियो फारममार्फत आवेदन दिने सार्वजनिक आवास भाडामा लिनेहरू कुनै पनि आय वा सम्पत्ति प्रतिबन्धको अधीनमा रहने छैनन्।

सेतो फारमका आवेदकलाई भने केही मापदण्ड पूरा गर्नु पर्नेछ।

जसअन्तर्गत, हङकङ डलर ६० हजारको मासिक आय र दुई वा सोभन्दा बढी सदस्य भएका परिवारले कुल सम्पत्ति हङकङ डलर १२ लाख ३० हजारसम्मको मात्र खरिद गर्न पाउने छन्।

फ्ल्याट खरिदका लागि एचकेएचएस पुनर्विकास परियोजनाहरूबाट प्रभावित बासिन्दा प्राथमिकतामा पर्नेछन्।

जसमा क्वुनतङ गार्डेन स्टेट फेज २, काउलुन सिटीस्थित चनसि मेई चुन, साउकेई वानस्थित मिङवा दाइहा फेज ३, एबरडीनस्थित युक्वङ चुनमा रहेका चिङ होए लाउ र होयाउ लाउ अनि नर्थ पोइन्टस्थित हेल्थी भिलेज फेज ३ का बासिन्दा पर्नेछन्।

यसैगरी, दुवै परियोजनामा ४० प्रतिशत फ्ल्याट नवजात शिशु वा वृद्ध सदस्य भएका परिवारको लागि आरक्षित गरिनेछ।

एचकेएचएसका विकास तथा बजार निर्देशक मनिता को पुनर्विकास परियोजनाले आवासीय गुणस्तर र फ्ल्याटको डिजाइनमा परिपूर्ति गर्नेमा आशा व्यक्त गरिन्।

‘हेमा फ्याब फ्यानलिङको सहरी क्षेत्रमा अवस्थित छ जुन एमटीआर स्टेसनबाट १० मिनेटको दूरीमा अवस्थित छ,’ मनिताले भनिन्, ‘यसको नजिकै प्रशस्तै मनोरञ्जन सुविधा पनि छन्।’

यस्तै, हेमा एमरल्ड पनि बासिन्दाका लागि उपयुक्त भएको उनको ठहर छ। ‘हेमा एमरल्डले हरियालीयुक्त बसोबासको वातावरण प्रदान गर्दछ,’ उनले थपिन्, ‘महिनाको अन्त्यसम्ममा सेन्ट्रल र डायमन्ड हिल जाने दुई नयाँ बस रुट सुरु हुनेछन्।’

दुवै परियोजनाको शो फ्ल्याट एचकेएचएसको चेङसा वानस्थित कार्यालयमा अवलोकन गर्न सकिनेछ। १४ अप्रिलसम्म सार्वजनिक अवलोकनका लागि खुला रहने यी फ्ल्याटको भ्रमण गर्नका लागि पूर्वबुकिङ आवश्यक नपर्ने एचकेएचएसले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .