हङकङमा गत वर्ष दुई फिल्मले बक्स अफिसमा हङकङ डलर १०० मिलियनको व्यापार गरेर रेकर्ड कायम गरे।
तर, यो सफलताले पनि सहरका सिनेमाघरको पीडा भने कम गर्न मद्दत गरेन। त्यसपछि दर्शकहरू घट्दै गए, सिनेमाघर पनि एकपछि अर्को बन्द हुँदैछन्।
हङकङ थिएटर एसोसिएसनका अनुसार सन् १९९४ मा ११२ सिनेमाघरमा १ लाख २५ हजारभन्दा बढी सिट थिए अहिले ३१ वर्षपछि सिनेमाघरको संख्या ५६ मा सीमित भएको छ भने सिट संख्या पनि खुम्चिएर ४० हजारभन्दा कममा पुगेको छ।
फिल्म हलले सबैभन्दा धेरै क्षति बेहोरेको भने कोभिड-१९ महामारीको समयमा हो।
विश्व नै लकडाउनले आक्रान्त भएको त्यसबेला घरभाडा र कर्मचारीको तलबले फिल्म हलहरूको ढाड सेकायो। जसले यस उद्योगलाई उठ्नै नसक्ने गरी थला पार्यो।
कोभिड महामारीको चपेटाबाट तङ्ग्रिन नपाउँदै सोही समयमा तीव्र रूपमा विकसित भएका डिजिटाइजेसन माध्यमले पनि यस उद्योगलाई थला पार्न थप बल पुर्याए।
नेटफ्लिक्स र डिज्नी प्लस जस्ता स्ट्रिमिङ प्लेटफर्महरूले प्रयोगकर्तालाई आकर्षित गर्न थाले। घरमै बसेर आफूलाई मन पर्ने कुरा, जब चाहियो त्यतिबेला हेर्न पाउने सुविधा पाएपछि दर्शक पनि हलसम्म धाउन किन कष्ट गरून्!
सरोकारवालाहरूको यही विश्लेषण छ– हङकङका मानिसहरू पहिलेको तुलनामा सिनेमा हेर्न हलसम्म जाँदैनन्।
गत वर्षका दुई हिट फिल्म ‘द लास्ट डान्स’ र ‘ट्वाइलाइट अफ द वारियर्स : वाल्ड इन’ले भीडलाई सिनेमाघरहरूमा फिर्ता ल्याएका थिए तर यी ठूला दुई हिट पनि प्रवृत्तिलाई उल्टाउन पर्याप्त भएनन्।
Shares

प्रतिक्रिया