हङकङको काउलुन स्टुडियोमा भएको ६८औँ खेलकुद च्याम्पियनसिप महोत्सवमा फरेनर्स हङकङ तेक्वान्दो एसोसिएसन (एफएचकेटीए)ले स्वर्ण, रजत र कांस्य गरी १४ पदक जितेको छ।
स्थानीय रूपमा भएको यस प्रतियोगितामा स्पाइरिङ, स्पिड र प्याटनमा प्रतिस्पर्धा भएको थियो। जसमा एफएचकेटीएले पाँच स्वर्ण, पाँच रजत र चार कांस्य हात पारेको हो।
हङकङ र चीनका गरेर लगभग १५ वटा संस्थाको सहभागिता रहेको उक्त प्रतियोगितामा लगभग चार सय जनाले प्रतिस्पर्धा गरेका थिए।
जसमा एफएचकेटीएबाट १२ जनाले सहभागिता जनाएको संस्थाका संयोजक चेतन गुरुङले नेपालखबरलाई बताए।

एफएचकेटीए आठ जना नेपाली प्रशिक्षक मिलेर सन् २००८ मा खोलिएको संस्था हो। जसको उद्देश्य नाफा कमाउनु नभई सामाजिक दायित्व निर्वाह गर्नु रहेको गुरुङ बताउँछन्।
‘यसैले हामीले संस्थालाई क्लबको रूपमा दर्ता नगरी संस्थाको रूपमा दर्ता गरेका हौँ,’ संयोजक गुरुङ भन्छन्।
६८औँ खेलकुद च्याम्पियनसिप महोत्सवमा माध्यमिक विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको थियो। जसमा एफएचकेटीएका संयोजक तथा प्रशिक्षक गुरुङका छोरा नोएल गुरुङले मात्र दुई स्वर्ण पदक जितेका छन्। उनले स्पाइरिङ र स्पिड किकमा स्वर्ण जितेका हुन्।

नोएलले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामाहरूमा पनि पदक जितिसकेका छन्। संयोजक गुरुङका अनुसार उनले अघिल्लो वर्ष मकाउमा भएको अन्तर्राष्ट्रिय खेलमा रजत जितेका थिए भने अघिल्लै वर्ष भएको एसिएन गेममा पनि कांस्य पदक जितेका थिए।
एफएचकेटीएले स्थानीय तवरमा हुने यस च्याम्पियनसिपमा वार्षिक रूपमा भाग लिने गरेको छ।
Shares

प्रतिक्रिया