हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसन (एचकेनुट्रा)ले आफ्नो मासिक हाइकिङ तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
११ महिनाअघिबाट सुरु गरेको कार्यक्रमको आइतबार एचकेनुट्राले ११औँ संस्करण सम्पन्न गरेको हो।
‘मासिक हाइकिङ प्रारम्भ भएको डेढ वर्ष पूरा भए पनि ट्रेल सरसफाइमा जुटेको ११ महिना पूरा गरेका छौँ,’ एचकेनुट्राका अध्यक्ष वेदराज लिम्बूले नेपालखबरसँग भने, ‘हामीसँग सहकार्यमा सामेल हुने जोकोहीले प्रकृतिसँगको प्रत्यक्ष अवलोकन गर्न पाएका छन्। अभिभावकहरूले ससाना नानीबाबुलाई प्रकृति के हो भनेर चिनाउन पाउनु भएको छ।’

कतिपयले हङकङभित्र आफ्नो देशको जस्तै वनजंगल रहेछ भनेर दंग परेको देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको लिम्बू बताउँछन्। कार्यक्रमस्थलमा भेटिएका लिम्बू हाङकिङले स्वस्थ्य जीवन जिउन मद्दत पुर्याउँछ भन्ने जानकारी बाँड्न पाउँदा उनी निकै हर्षित देखिन्थे।
संस्थाका उपाध्यक्ष तथा हाइकिङ संयोजक भेषराज भट्टराई मासिक कार्यक्रमले समुदायलाई हाइकिङ डोर्याउनुका साथै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दर्जनौँ ट्रेल धावक जन्माएको बताउँछन्।

आइतबारको ११औँ श्रृङ्खलामा हाइ आइल्यान्ड जलाशय पूर्वी बाँध, लङ्के वान पूर्वी ड्याम (रिजरभर), म्याकलहोज ट्रेल (खण्ड १ र २) र आसपासमा सरसफाइ गरिएको थियो। विगतका श्रृङ्खलामा ड्रागन ब्याक शेक ओ, माओन शान, शातिन, ताइलाम कन्ट्री ट्रेल (ताइतङ नेचर ट्रेल), शिङमन कन्ट्री पार्क, सनसेट पिक, लान्ताउ आइल्यान्ड लगायतका क्षेत्रको सरसफाइ भएको थियो।
कार्यक्रममा नेपाली तथा विदेशी गरी ५५ जनाको टोली सहभागी थियो। साइकुङस्थित न्यु टेरिटोरिजमा रहेको लङ्केवान (हाइ आइल्यान्ड जलाशय पूर्वी बाँध) पुगेर कार्यक्रम समापन भएको थियो।




Shares

प्रतिक्रिया