लामो समयदेखि हङकङलाई कर्मथलो बनाउँदै आएका तेक्वान्दो ग्रान्डमास्टर तुल्सीकुमार गुरूङले जीवनमा नवौँ डान बन्छु भन्ने कुरा कहिल्यै सोचेनन्। नवौँ डानको परीक्षामा उत्तीर्ण भएपछि पनि संसारै जिते जस्तो हर्ष लागेन।
यस्तो बन्छु, त्यस्तो गर्छु भनेर उनले कहिल्यै ठूलो महत्त्वाकांक्षा राखेनन्। अर्थात् उनी फलको आशा नराखी अनवरत कर्म गरिरहे। यसैको प्रतिफल उनले तेक्वान्दो दुनियाँकै दुर्लभ नवौँ डान प्राप्त गरे।
‘मान्छेहरू बढी महत्त्वाकांक्षा राख्छन् र त्यो पूरा नहुँदा निराश बन्छन्। मैले कहिल्यै त्यसो गरिनँ र गर्दिनँ पनि,’ उनी भन्छन्, ‘एक पटक असफल भएपछि ‘गिभअप’ गर्छन्। मान्छेलाई केही असफलताले लक्ष्यमा पुग्नबाट रोक्दैन। लक्ष्यमा नपुगुन्जेल अनुशासनमा रही कडा परिश्रम र समर्पण, खेलप्रति जोश र माया, एकाग्रता, लक्ष्य निर्धारण, चुनौतीलाई आत्मसात् गर्दै पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्यो भने कुनै न कुनै दिन सफलताको शिखरमा पुग्न सकिन्छ।’

यो सँगसँगै परिवारको साथ र सहयोग पनि उत्तिकै जरूरी रहने उनी बताउँछन्। ‘मैले झन्डै ४५ वर्षसम्म एकै खेलमा अडिएर ऐतिहासिक सफलता र सम्मान प्राप्त गर्नुमा परिवारको ठूलो भूमिका छ,’ उनी सुनाउँछन्।
मल्टीपल स्पोर्ट्समा मल्टीपल च्याम्पियन बनेका गुरूङले सन् २०१५ मा तेक्वान्दोको ‘हल अफ फेम’ जस्तो गरिमामय सम्मान पाएका थिए भने हालै ‘नवौँ डान’ को परीक्षा पास गरेका छन्।
उनले केही महिनापश्चात् दक्षिण कोरियाको राजधानी सिओलस्थित वर्ल्ड तेक्वान्दो हेडक्वाटर ‘कुकिवान’ मा एक विशेष समारोहमार्फत औपचारिक रूपमा उक्त उपाधि ग्रहण गर्नेछन्। त्यतिबेला उनी यो ऐतिहासिक सम्मान र उपाधि प्राप्त गर्ने पहिलो नेपाली बन्ने छन्।
करिब ६५ वर्ष अगाडि कास्की जिल्लाको बारचोक मादी गाउँमा जन्मिएका तुल्सीकुमार गुरुङको शैशवकाल गाउँमै बित्यो। चन्चल र हक्की स्वभावका उनी गाउँमा कबड्डी, कुस्ती तथा पौडी खेल्ने गर्दथे।
निडर स्वभावकै कारण उनी आफूभन्दा ठूलासँग पनि कुस्ती खेल्न पछि हट्दैनथे। उनलाई कसैसँग धक लाग्दैनथ्यो।

पछि माध्यमिकस्तरको पढाइका लागि उनी पोखरा झरे। त्यहाँ सेनाले आधारभूत बक्सिङ सिकाउँथ्यो। उनले त्यहीँ बक्सिङको आधारभूत ज्ञान लिए।
तेक्वान्दो यात्रा
सन् १९७८ मा ब्रिटिस गोर्खामा भर्ती भएर उनी हङकङ आए। रिक्रुट तालिम सकिएपछि त्यसको अर्को वर्ष बक्सिङको सट्टा तेक्वान्दोमा प्रवेश गरे। उनको तेक्वान्दोको यात्रा यहीँबाट सुरु भयो।
नेपालमा त्यतिबेला तेक्वान्दोको नामोनिसान थिएन। पछि १९८३ तिर दिपराज गुरुङको समूहले सुरु गरेका हुन्।
भर्तीपछि रमेश गोसाईको प्रशिक्षणमा उनको तेक्वान्दो मौलाउँदै गयो। सानैदेखि हक्की, निडर र फुर्तिलो स्वभावले उनी छोटो अवधिमै प्रतियोगिताहरूमा भाग लिन सुरु गरे।
उनले यति छिटो प्रगति गरेकी तेक्वान्दो सिक्न सुरु गरेको पहिलो वर्षमै हङकङ नेसनल तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा लाइट वेटतर्फ च्याम्पियन बने। १९८०-८३ सम्म उक्त डिभिजनको एकछत्र राज गरे।
त्यसैगरी सन् १९७९-८७ सम्म ब्रिटिस फोर्स हङकङ तेक्वान्दो च्याम्पियन सहित ‘द बेस्ट फाइटर’को उपाधि हात पारे। त्यस्तै, १९८४ मा नेपाल नेसनल मार्सल आर्ट्स च्याम्पियन बने।

यसका साथै, ‘द वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाए।
तेक्वान्दोमा प्रवेशको छोटो समयमै सफलता चुम्न थालेका गुरुङले यससम्बन्धी विभिन्न क्षेत्रमा कुशल जिम्मेवारी पनि वहन गरेका छन्। उनले हङकङ नेसनल टिमको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने कुकिवानका सल्लाहकार समेत हुन्।
त्यसैगरी इन्टरनेसनल ग्रेट भ्यु तेक्वान्दो फेडेरेसन चाइना र हङकङ प्रहरी तेक्वान्दो क्लब, होराङ तेक्वान्दो क्लब युकेका प्रमुख प्राविधिक सल्लाहकार हुन्। साथै, २००१ मा स्थापित हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसनका संस्थापक र अध्यक्ष हुन्।
उनले अन्तर्राष्ट्रिय मास्टर इन्स्ट्रक्टर तथा रेफ्री समेतको भूमिका निर्वाह गरिसकेका छन्।
यसको अलावा उनी सन् १९८५-९६ सम्म ब्रिटिस फोर्स हङकङ तेक्वान्दोको प्रमुख प्रशिक्षक तथा सचिवको जिम्मेवारीमा थिए।
कसरी प्राप्त गर्न सकिन्छ नवौँ डान?
तेक्वान्दोको सम्भवत: यो नै उच्चतम श्रेणी हो। यो प्राप्त गर्नु अत्यन्तै दुर्लभ मानिन्छ। यो प्राप्त गर्न असाधारण सीप मात्र होइन, तेक्वान्दोमा अध्यापन, प्रशिक्षण र विश्वव्यापी रूपमा तेक्वान्दोको प्रवर्द्धनका लागि महत्त्वपूर्ण योगदान समेत गर्न आवश्यक छ। अभ्यासकर्ताहरूदे दशकौँ लामो अनुभव, नेतृत्व र समर्पणबाट मात्र यो प्राप्त गर्दछन्। जुन हासिल गर्न गुरुङ सक्षम भए।
प्राविधिक पक्ष: कलर बेल्टबाट ब्लाक बेल्ट लिन करिब ३-४ चार वर्ष लाग्ने गर्छ। पहिलेपल्ट प्राप्त ब्लाक बेल्टलाई पहिलो डान भनिन्छ। पहिलो डानबाट दोस्रो डान प्राप्त गर्न एक वर्ष लाग्छ।

त्यसैगरी दोस्रोबाट तेस्रो डान लिन २ वर्ष, तेस्रोबाट चौथो (मास्टर) लिन ३ वर्ष, चौथोबाट पाचौँ लिन ४ वर्ष, पाचौँबाट छैटौँ (ग्रान्डमास्टर) लिन ५ वर्ष, छैटौँबाट सातौँ लिन ६ वर्ष, सातौँबाट आठौँ लिन ८ वर्ष र आठौँबाट नवौँ डान लिन ९ वर्ष पर्खनुपर्ने हुन्छ।
यसैले पनि नवौँ डान प्राप्त गर्नु चानचुने कुरो होइन। यसका लागि अथक त्याग, तपस्या, प्रतिबद्धता, निपुणता, विशेषज्ञता र धैर्यता चाहिन्छ। निरन्तर अभ्यास र साधनाको बाबजुद यो प्राप्त गर्न दशकौँ समय लाग्छ। तेक्वान्दो क्षेत्रमा प्राप्त गर्ने यो नै उच्चतम सम्मान हो।
सन् २००० को सिड्नी ओलम्पिकबाट आधिकारिक रूपमा ओलम्पिकमा प्रवेश पाएको यो खेल संसारका २०६ राष्ट्रमा ८-१० करोडको सङ्ख्यामा अभ्यासरत छन्। जसमा नवौँ डान प्राप्त गर्नेको सङ्ख्या ५० भन्दा कम छ। गुरूङले हालै यो इतिहास रचेका हुन्।

हल अफ फेम
खेलकुद क्षेत्रमा एक प्रतिष्ठित संस्था छ– हल अफ फेम। यो यस्तो प्रतिष्ठित संस्था हो जसले कुनै खास खेलकुदमा असाधारण योगदान पुर्याएवापत सम्मान र मान्यता प्रदान गर्ने गर्दछ।
सामान्यतया खेलाडी, प्रशिक्षक, रेफ्री लगायतले खेललाई उचाइमा पुर्याउन गरेको अभूतपूर्व योगदान र नेतृत्ववापत उक्त सम्मान प्रदान गरिन्छ।
तेक्वान्दोको आफ्नै हल अफ फेम संस्था छ। जसलाई द वर्ल्ड तेक्वान्दो हल अफ फेम भनेर चिनिन्छ। विश्वभर तेक्वान्दोको विकास र प्रवर्द्धन तथा विश्वव्यापी मान्यतालाई उन्नत बनाउन योगदान गरेवापत यो सम्मान प्राप्त हुन्छ। गुरुङले यो गौरवशाली सम्मान २०१५ मा प्राप्त गरिसकेका छन्।
कुकिवानको शाखा विस्तार
भर्खरै नवौँ डान उत्तीर्ण गरेका गुरुङले निकट भविष्यमा कुकिवानको शाखा हङकङमा विस्तार गर्ने योजना नेपालखबरलाई सुनाए।
त्यसो भएमा मास्टर तथा त्यो भन्दा माथि श्रेणी लिन चाहनेले कोरिया जाने झन्झटबाट मुक्ति पाउने गुरुङ बताउँछन्।

शाखा विस्तारबाट १ अर्ब ४० करोड भन्दा बढी जनसंख्या भएको चीनका तेक्वान्दो खेलाडीसमेत लाभान्वित हुनेछन् भने तेक्वान्दोको थप विस्तार हुनेछ। नेपालीहरूले पनि त्यसको लाभ उठाउन सक्नेछन्। शाखाको प्रमुख जिम्मेवारी गुरुङले निर्वाह गर्नेछन्।
करिब ४६ वर्षको अनवरत साधनापश्चात गुरुङले नेपालकै पहिलो तेक्वान्दोका नवौँ डान ग्रान्ड मास्टर बनेर गौरवमय इतिहास रचेका छन्।
Shares

प्रतिक्रिया