धरानका मेयर हर्क साम्पाङ हङकङ आउने

धरानका मेयर हर्क साम्पाङ हङकङ आउने

बज्रकुमार थुलुङ राई
बैशाख ९, २०८२ मंगलबार १२:२१, हङकङ

नेपालको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ हङकङ आउने भएका छन्। किरात राई यायोक्खा (किराया) हङकङले सोमबार जोर्डनमा गरेको पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो।

मेयर साम्पाङ ३ मेमा हङकङ आउने कार्यक्रम तय भएको किरायाका अध्यक्ष गजेन्द्रबहादुर राईले बताए।

सुनसरीको धरान उपमहानगरपालिका-२० स्थित चिन्डेडाँडामा निर्माण गरिने भनिएको किराती संस्कृतिका आदिम पुर्खा सुम्निमा-पारुहाङको प्रतिमाका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले मेयर साम्पाङ हङकङ आउन लागेको मूल आयोजक किराया हङकङले बताएको छ।

किराया हङकङले संस्थाको प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राई मूल संयोजक रहेको समिति गठन गरी आर्थिक संकलन अभियानमा लागेको छ।

यस कार्यका लागि सहआयोजकमा किरात राई चाम्लिङ खाम्बातिम, दुमी फन्सिकिम, साम्पाङ जुम्लेखा, पुमा तुप्खाबाङ्खाला, बान्तावाखिम, थुलुङ (राई) सामा, सोदेल कोयी/कोयू किम र बायुङ सुम्निखिम रहेका छन्।

३ मेमा हङकङ पुग्ने मेयर साम्पाङ ९ मेमा नेपाल फर्कनेछन्। साम्पाङको कार्यतालिका प्रस्तुत गर्दै मूल संयोजक शशिमदन राईले ३ र ४ तारिखमा हुने ‘नेपाल फेस्ट २०२५’मा मेयर साम्पाङको प्रमुख आतिथ्य रहने जानकारी दिए।

हङकङेली नेपालीहरूको बहुसांस्कृतिक सम्पदाको उत्सव भनेर सम्बोधन गरिएको उक्त ‘नेपाल फेस्ट’मा ७० भन्दा बढी कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। त्यस्तै, विभिन्न जातिको सांस्कृतिक झाँकी र खानपानसमेत प्रदर्शनी गरिने आयोजक संस्थाले जनाएको छ।

मेयर साम्पाङ आगमन टिमको मूल प्रायोजक रहेको ‘एस अफ स्पेड्स इन्टरटेनमेन्ट कम्पनी’ले आयोजना गरेको ‘नेपाल फेस्ट’ ए एक्स ए वन्डरल्यान्ड, पश्चिम काउलुनमा हुनेछ।

आर्थिक सहयोग संकलनको मुख्य अपेक्षा राखेर आउने मेयर साम्पाङको इन्डिया क्लब, ब्लु ओसन रेस्टुरेन्ट र याक एन्ड यति रेस्टुरेन्ट जस्ता ठूला भेन्युहरूमा मिट एन्ड ग्रिड कार्यक्रम राखिएको छ।

एक हप्ता हङकङमा रहने मेयर साम्पाङ अन्य केही संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रममा पनि जानेछन्। त्यस्तै, यहाँका पुरातात्त्विक, ऐतिहासिक तथा श्रम र विज्ञानले निर्माण गरेका ठाउँहरूको भ्रमण समेत हुने कार्यक्रम रहेको आयोजकको कार्यतालिकामा छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .