हङकङमा अर्को हप्ता ‘औपचारिक उद्‌घाटन’ हुँदै आईओएम मुख्यालय

चिनियाँ विदेशमन्त्री वाङसहित ६० देशका प्रतिनिधि सहभागी हुने
हङकङमा अर्को हप्ता ‘औपचारिक उद्‌घाटन’ हुँदै आईओएम मुख्यालय

चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को हप्ता हङकङको भ्रमण गर्नेछन् (एएफपी)


जेफी लाम र जेस मा
जेठ ७, २०८२ बुधबार १९:५५, हङकङ

हङकङमा विश्वको पहिलो अन्तरसरकारी मध्यस्थता संगठनको हस्ताक्षर समारोह अर्को हप्ता शुक्रबार (३० मे) हुने भएको छ। जसका लागि मुख्यभूमि चीनका शीर्ष कूटनीतिज्ञ एवं विदेशमन्त्री वाङ यीलगायत विश्वका ६० देशका प्रतिनिधि हङकङ आउने भएका छन्।

समारोहमा २० वटा विश्वव्यापी निकायका प्रतिनिधिको पनि उपस्थिति रहनेछ। चिनियाँ विदेश मन्त्रालयले हस्ताक्षर समारोहमा भाग लिन विदेशमन्त्री यी अर्को हप्ता हङकङ आउने मंगलबार जानकारी दिएको छ।

बेइजिङको समर्थनमा हङकङमा स्थापना भएको यो अन्तर्राष्ट्रिय संस्था सन् २०२२ मा घोषणा गरिएको हो।
हस्ताक्षर समारोहका दिन विभिन्न देश र अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवादहरूको मध्यस्थताका बारेमा छलफल गर्न एउटा फोरमको पनि आयोजना गरिनेछ।

अन्तर्राष्ट्रिय मध्यस्थता संगठनको औचित्य
सन् २०२२ मा घोषणा गरिएको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन (आईओएम) को मुख्यालय हङकङमा रहनेछ। आईओएमले हङकङको कानुन, परम्परा र विशेषज्ञतालाई उपयोग गर्दै विवाद समाधान केन्द्रको रूपमा असहमतिहरू सुल्झाउन अन्तरसरकारी मञ्चको रूपमा काम गर्ने लक्ष्य राखेको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले अफ्रिका, ल्याटिन अमेरिका, एसिया र युरोपका वरिष्ठ प्रतिनिधिहरू साथै संयुक्त राष्ट्रसंघलगायत करिब २० अन्तर्राष्ट्रिय संगठनहरू हस्ताक्षर समारोहमा सहभागी हुने बताइन्।

माओले हालको भूराजनीतिक तनावबारे केही नभने पनि यो संस्था अन्तर्राष्ट्रिय विवादहरूलाई मध्यस्थतामार्फत समाधान गर्न समर्पित विश्वको पहिलो अन्तरसरकारी कानुनी संगठन बन्ने बताइन्।

‘हामी अन्तर्राष्ट्रिय मध्यस्थता संगठनको स्थापनामा सहयोग र सहभागिताका लागि थप देशलाई स्वागत गर्दछौँ,’ प्रवक्ता माओले भनिन्, ‘अन्तर्राष्ट्रिय विवादहरूको कुशल र शान्तिपूर्ण समाधानका लागि थप विकल्प र माध्यमहरू उपलब्ध गराउन तथा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षणका लागि अवस्थित अन्तर्राष्ट्रिय विवाद समाधान संयन्त्रहरूसँग मिलेर काम गरौँ।’

माओका अनुसार बेइजिङसहित करिब २० देशले २०२२ मा यो संगठन स्थापना गर्न संयुक्त रूपमा पहल सुरु गरेका थिए। साथै, ‘मुख्यालय हङकङमा रहनेछ’ भन्नेमा सर्वसम्मतिले सहमति जनाएका थिए।

हङकङका लागि विशेष अवसर
हङकङमा मुख्यालय रहने गरी यस किसिमको संस्था स्थापना हुनु सहरको लागि अवसर भएको हङकङ सरकारले जनाएको छ। सरकारका प्रवक्ताले मुख्यालयको स्थापनाले ‘सहरको अन्तर्राष्ट्रिय मध्यस्थतामा अद्वितीय फाइदा र अवसरहरू प्रदर्शन गरेको’ बताएका छन्।

त्यस्तै, न्याय सचिव पल लामले सामाजिक सञ्जाल पोस्ट गर्दै यो संगठनले ‘विभिन्न कानुनी प्रणालीका फाइदा बटुलेको र कानुनी क्षेत्रमा विश्वव्यापी शासनलाई अझ निष्पक्ष र अधिक व्यावहारिक दिशामा लैजान लाभदायक हुने’ बताए।

यस्तै, चिनियाँ विदेशमन्त्री तथा कम्युनिष्ट पार्टीको प्रमुख निर्णय लिने निकाय पोलिटब्युरोका सदस्य वाङले दुई वर्षअघि यसको तयारी कार्यालयको उद्घाटनका क्रममा संगठनप्रति शुभेच्छा प्रकट गर्दै विश्व शान्ति प्रवर्द्धन गर्ने चीनको प्रयासको एक हिस्सा भएको बताएका थिए।

कानुनका प्राध्यापक तथा अनुभवी विधायक प्रिसिला लेङले वाङको उपस्थिति समारोह चीन र हस्ताक्षर गर्ने देशहरूबीचको राज्य मामिला भएको र हङकङले संगठनको मुख्यालयको लागि आयोजकको रूपमा काम गरेको कुराले महत्त्व बोकेको बताइन्।

चीनको शीर्ष विधायिका राष्ट्रिय जन कांग्रेस (एनपीसी)को उपप्रमुख समेत रहेकी लेङले यो मध्यस्थता निकायले सार्वभौम राष्ट्रहरूबीचका विवाद, जस्तै पूर्वाधार परियोजनाहरूका साथै ठूला अन्तर्राष्ट्रिय वाणिज्यिक मुद्दाहरू पनि हेर्ने परिकल्पना गरिन्।

लेङ आशातीत बन्छिन्, ‘यी वाणिज्यिक विवादहरू अन्तरदेशीय वा सीमापार हुनेछन्, जस्तै ग्रेटर बे एरिया, जसमा विभिन्न क्षेत्राधिकारहरू समावेश छन्।’

बेल्ट एन्ड रोड पहल र हङकङको भूमिका
सेमी-अफिसियल चिनियाँ एसोसिएसन अफ हङकङ एन्ड मकाउ स्टडिज थिंक ट्यांकका सल्लाहकार लाउ सिउले अधिकांश हस्ताक्षरकर्ता चीनमैत्री देशहरू हुने बताए। उनका अनुसार अधिकांश हस्ताक्षरकर्ताहरू बेल्ट एन्ड रोड इनिसियटिभ, बेइजिङको विश्वव्यापी व्यापार बढाउने योजना वा ग्लोबल साउथका देशहरूमा भाग लिएका चैनमैत्री हुनेछन्।

सन् २०२३ मा संगठनको तयारी कार्यालयको उद्घाटन समारोहमा इन्डोनेसिया, पाकिस्तान, लाओस, कम्बोडिया, सर्बिया, बेलारुस, सुडान, अल्जेरिया र जिबुती लगायतका देशले मध्यस्थता निकायमा हस्ताक्षर गरिसकेको खुलासा चिनियाँ विदेश मन्त्रालयले गरिसकेको छ।

लाउ र लेङ दुवैले संगठनको स्थापनाले देशको १४ औँ पञ्चवर्षीय योजनाअन्तर्गत हङकङको कानुनी हबको स्थितिलाई सुदृढ पार्ने बताएका छन्। यस योजनाअन्तर्गत हङकङ, एसिया-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनी र विवाद समाधान सेवाको केन्द्रको रूपमा विकसित हुनेछ।

लेङ भन्छिन्, ‘यो हङकङका लागि ठूलो उपहार हो। निकायको स्थापनाले हामीलाई अन्तर्राष्ट्रिय विवाद समाधान केन्द्रको रूपमा मान्यता दिएको छ। सहभागी देशहरूले हाम्रो कानुनी क्षेत्राधिकार भरपर्दो, प्रतिष्ठित र विवादहरू सुल्झाउन सक्षम रहेको स्वीकार गरेका छन्।’

तयारी कार्यालयका महानिर्देशक सुन जिनले २०२३ मा सरकारद्वारा आयोजित बेल्ट एन्ड रोड शिखर सम्मेलनमा आफ्नो संगठनको लक्ष्य अन्तर्राष्ट्रिय विवादहरूका लागि लागत-प्रभावी समाधानहरू उपलब्ध गराउनु रहेको र अन्य अन्तर्राष्ट्रिय निकायहरूभन्दा आफूलाई फरक देखाउनु रहेको बताए। जसले मुद्दा र मध्यस्थतामा बढी ध्यान केन्द्रित गर्छन्।

हङकङमा अन्तर्राष्ट्रिय कानुनी निकाय
हङकङमा अन्य पनि अन्तर्राष्ट्रिय कानुनी विवाद समाधान निकाय छन्। जसमध्ये, एसियाली अफ्रिकी कानुनी परामर्श संगठनको हङकङ क्षेत्रीय मध्यस्थता केन्द्र एक हो जुन सन् २०२२ मा खोलिएको थियो।

यो हेग सम्मेलन अन प्राइभेट इन्टरनेसनल कानुनको एक मात्र क्षेत्रीय कार्यालयको बनेको छ।

नयाँ मध्यसथ्ता संगठनको मुख्यालय पुरानो वानचाइ प्रहरी चौकीमा अवस्थित ग्रेड २ ऐतिहासिक भवन हुनेछ। जसको मर्मतका लागि ४६ करोड हङकङ डलरको कोष स्थापना भएको छ।

१,९६० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस मुख्यालयमा संगठनको काम कारवाहीका लागि कार्यालय, मध्यस्थता केन्द्र र अन्य सुविधाहरू उपलब्ध हुनेछन्। (एससीएमपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .