हङकङमा हरेक महिनाको पहिलो आइतबार हाइकिङ गराउँदै आएको हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसियन (एचकेनुट्रा)ले आज पनि हाइकिङ तथा ट्रेल सरसफाइ कार्यक्रम गरेको छ।
आजको पदयात्रामा ६६ जना सहभागी रहेको संस्थाका अध्यक्ष वेदराज सेलिङ लिम्बूले बताए। पदयात्री टोलीको नेतृत्व भने संयोजक प्रेमकुमार राई (महिन्द्र) र धर्मराज राईले गरेका थिए।
एचकेनुट्राले मासिक रूपमा दुई कार्यक्रम गर्दै आएको छ। जसअन्तर्गत महिनाको अन्तिम आइतबार बालबच्चाका लागि शारीरिक व्यायाम र पहिलो आइतबार छोटो तथा लामो दूरीको हाइकिङ तथा ट्रेल सरसफाइ कार्यक्रम गर्दै आएको अध्यक्ष लिम्बू बताउँछन्।

साथै, संस्थाको यस्तो प्रयासले नेपाली तथा अन्य देशका हङकङवासीलाई हाइकिङको मार्गदर्शक बनेको समेत उनले बताए। एचकेनुट्राले २०२४ देखि निरन्तर रूपमा यस्तो कार्यक्रम गर्दै आएको छ।
हाइकिङमा यति लामो समयसम्म यसरी निरन्तरता दिने हङकङमा अर्को संस्था नभएको अध्यक्ष लिम्बू दावी गर्छन्।
आइतबार बिहान ८ बजे जोर्डन रोडबाट बस चढी लान्ताउ टापुको शेकपिक रिजर्भर (जलाशय)मा उत्रेको टोली डगतिथ पहाड, नर्थ लान्ताउ ट्रेल हुँदै गङपिङ बिग बुद्ध गेटसम्म उक्लिएको थियो। त्यसपछि पुन: हाइकिङका साथै सरसफाइ गर्दै अगाडि बढेको टोली तेइतङ साइ, शेकमुन क्याम्प हुँदै तुङचुङ पुगेको थियो। टोलीले ६ देखि १२ किलोमिटरको पैदलयात्रा गरेको संयोजक राईले बतए।
एचकेनुट्राको मासिक कार्यक्रम अन्तर्गत यो १४औँ शृङ्खला हो।
Shares

प्रतिक्रिया