हङकङ प्रहरीले अधिकारीको नक्कल गर्दै ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। २१ वर्षीया ती महिलाले अधिकारीको नक्कल गर्दै आठ फोन घोटालामार्फत ३७ लाख हङकङ डलर ठगी गरेको प्रहरीको आरोप छ।
उनले यो रकम २४ देखि ४२ वर्ष उमेर समूहका ८ पीडितसँग कम्तीमा ३ लाख २० हजारदेखि माथि ठगी गरेकी थिइन्। उनले ठगेको रकम २८ देखि ३७ लाख हङकङ डलरको बीचमा रहेको अनुमान प्रहरीको छ।
शुक्रबार प्रहरीले ती महिलालाई नक्कली प्रहरी वारेन्ट कार्डसहित फेला पारेपछि पक्राउ गरेको थियो। उनलाई ङाउताउ ककमा पक्राउ गरिएको र थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार, गएको जुनमा एक महिलाले प्रहरी अधिकारीको रूपमा प्रस्तुत भएर आठ वटा ठगी गरेकी थिइन्। ३७ लाख हङकङ डलरसम्मको क्षति बेहोर्नुपरेको उक्त घटनाको दोषी अहिले पक्राउ परेकी महिला हुनसक्ने कोणबाट प्रहरीले अनुसन्धान अघि बढाएको हो।
‘ती महिलाको निवासमा खोजतलास गर्दा प्रहरीले सात गोप्य सम्झौताहरू समेत फेला पारेको छ,’ स्रोतलाई उल्लेख गर्दै पोस्ट लेख्छ, ‘अधिकारीको रूपमा प्रस्तुत भएर ठगी गर्ने गिरोहलाई नजिकबाट नियालिरहेको क्रममा ती महिलालाई पक्राउ गरिएको हो।’
Shares

प्रतिक्रिया