हङकङमा विफा आँधीका कारण आइतबार मात्र २ अर्ब हङकङ डलरसम्मको क्षति पुर्याएको आँकलन अर्थशास्त्रीहरूले गरेका छन्। आइतबार यहाँ अधिकतम चेतावनी संकेत जारी भएको थियो।
चिनियाँ विश्वविद्यालय हङकङको लाउचोताक इन्स्टिच्युट अफ ग्लोबल इकोनोमिक्स एन्ड फाइनान्सका कार्यकारी निर्देशक प्रोफेसर टेरेन्स चोङ ताईले सोमबार खानपान, खुद्रा र यातायात क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए।
थाई नाम विफा रहेको आँधीका कारण आइतबार १० नम्बर चेतावनी संकेत जारी गरिएको थियो। जसले बासिन्दालाई घरभित्रै बस्न बाध्य तुल्यायो भने ५०० उडान रद्द भए। उक्त उडानका करिब एक लाख यात्रु प्रभावित बने।
७ घण्टासम्म प्रभावमा रहेको संकेत नम्बर १० का कारण २ देखि ३ अर्ब हङकङ डलरको क्षति भएको हुन सक्ने ताईको अनुमान छ। आँधी सप्ताहन्त नभई हप्ताको मध्यमा आएको भए क्षति अझ बढी हुने अनुमान उनको छ।
‘आइतबार कम आर्थिक गतिविधि हुन्छ, त्यसैले क्षति अझ कम भयो,’ ताईलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘पर्यटन, खुद्रा बिक्रेता वा ट्याक्सी लगायतका यातायात सप्ताहन्तमा कम चलायमान हुन्छन्, जसले क्षति कम गर्न मद्दत पुर्यायो।’
Shares

प्रतिक्रिया