हङकङमा यतिखेर टाइफुन विफाका कारण टी१० संकेत जारी छ। सहरमा दुई वर्षमा पहिलो पटक टी१० संकेत जारी गरिएको हो। पछिल्लो पटक २०२३ मा टी१० संकेत जारी गर्ने अवस्था आएको थियो। त्यतिबेला सुपर टाइफुन साओलाले ८६ जनालाई घाइते बनाएको थियो।
हङकङमा आज बिहान ९:२० टी१० संकेत जारी गरिएको हो। संकेत जारी गर्दै अब्जर्भेटरीले आँधीले सहरमा खतरा ल्याउने चेतावनी पनि दिएको छ।
आँधीको यो प्रभावसँगै हङकङका धेरै उडान प्रभावित भएका छन्। विमानस्थल प्राधिकरणले उल्लेख गरेअनुसार ५०० उडान रद्द भएका छन्, जसमध्ये ४०० उडान पुन: तालिकाबद्ध गरिएको छ।
यसैबीच प्राधिकरणले भनेको छ कि, शनिबार रातिदेखि आइतबार बिहान ६ बजेसम्म लगभग ३,००० यात्रु बोकेर कुल ३६ उडान हङकङ आइपुगेका छन्।
आँधीको चेतावनी हटाइएपछि उडान सञ्चालन क्रमशः सुरु हुने पनि प्राधिकरणले जनाएको छ। यद्यपि, साँझभरि विमानस्थल अत्यन्तै व्यस्त रहने अपेक्षा गरिएको छ। यसर्थ, यात्रुहरूलाई आफ्नो उडान स्थिति जाँच गर्न प्राधिकरणले सुझाव दिएको छ।
अब्जर्भेटरीले बिहान ९:२० बजे संकेत नम्बर १० जारी गरिसकेपछि दिउँसोको अपडेटमा आँधीको केन्द्र सहरको दक्षिणतिरबाट रहेको जनाएको छ। जुन अधिकतम १४० किलोमिटर प्रतिघण्टाको चलिरहेको थियो।
कुन एयरलाइन्सको कति उडान रद्द?
क्याथे प्यासिफिकले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म हङकङ आइपुग्ने सबै उडान डिले वा रद्द भएको जनाएको छ।
हङकङ एयरलाइन्सले आइतबारको लागि तय गरिएका कुल १९ उडान रद्द गरेको छ भने सोमबारको लागि एक उडान रद्द गरेको छ।
त्यस्तै, ग्रेटर बे एयरलाइन्सको उडान सेवा अपडेटमा आइतबारका लागि तय भएका ताइपेई जाने-आउने दुई उडान रद्द गरिएको छ।
स्टारलक्स एयरलाइन्सले आइतबार ताइपेइ जाने-आउने चार राउन्ड-ट्रिप उडान रद्द गरेको छ।
यसैगरी, चाइना एयरलाइन्सले आइतबारका लागि तय ताइपेई र काओसुङबीचको उडान रद्द गरेको छ। (एजेन्सी)
Shares

प्रतिक्रिया