हङकङको पोकफु लामस्थित क्विन मेरी अस्पतालको निर्माणाधीन भवनमा एक कामदारको मृत्यु भएको छ। भवनको लिफ्टमा काम गरिरहेका उनलाई माथिबाट झरेको लिफ्टले किचेको थियो जहाँ उनी झन्डै २ घण्टासम्म फसेका थिए।
५७ वर्षीय ती कामदार आइतबार साँझ ५:४० बजे पोकफु लाम रोडमा रहेको भवनमा लिफ्टको लागि बिजुली आपूर्ति मर्मत गरिरहेका थिए।
प्रहरी स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार ती व्यक्तिले गतमहिनाबाट मात्र लिफ्ट कम्पनीमा काम गर्न थालेका थिए। आइतबार उनको काम गर्ने समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्मको थियो।
सँगै काम गरिरहेका सहकर्मीले अनुसन्धानकर्तालाई जानकारी दिएअनुसार लिफ्ट अचानक तल झरेर तल्लो लिफ्टमा काम गरिरहेका कामदारलाई किचेको थियो। तिनै सहकर्मीले आपत्कालीन सेवालाई घटनाबारे जानकारी गराएका थिए।
उद्धारकर्ताले पीडित कामदारलाई बेहोस अवस्थामा उद्धार गरी अस्पताल पठाएका थिए। जहाँ उनलाई साँझ साढे ७ बजे मृत घोषित गरियो।
Shares

प्रतिक्रिया