हङकङमा मध्य जुलाईदेखि अगस्ट अन्तिमसम्म विद्यालय बन्द हुन्छन्। यो ‘समर हलिडे’मा स्कुल पढ्ने बालबालिका फुर्सदिला हुन्छन्। यही फुर्सदिलो समयलाई सदुपयोग गरी नेपाली बालबालिकालाई टेनिस सिकाउन नेप्लिज टेनिस सोसाइटीको अवधारणामा ‘समर टेनिस लेसन फर द युथ’ प्रोग्राम ल्याएको छ।
उक्त प्रोग्रामको औपचारिक उद्घाटन गत आइतबार जोर्डनस्थित इन्डिया क्लबको टेनिस कोर्टमा सम्पन्न भएको थियो।
चिमसा चोई वेस्ट केयर टिमको प्रमुख आयोजक तथा इन्डिया क्लब र हङकङ नेप्लिज टेनिस सोसाइटीको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको अतिथिहरूमा याउचि मङ जिल्ला पार्षद्हरू अरुणा गुरुङ, अलेक्स पुन, सहायक जिल्ला अधिकारी इङ्ग्रिड योङ, इन्डिया क्लबका अध्यक्ष नानु लक्ष्मण, बङ्गलादेश एसोसिएसन हङकङको सांस्कृतिक सचिव डा. बाबु फक्रुल इस्लाम, नेपाल चेम्बर्स अफ कमर्स हङकङका सल्लाहकार कुलप्रसाद गुरुङ, सोसाइटीका पदाधिकारीहरू, नेपाली अभिभावकहरू तथा बालबालिका र किशोरकिशोरीहरूको उपस्थिति थियो।

अगस्ट अन्तिम हप्तासम्म चल्ने उक्त कोचिङ कार्यक्रममा उपस्थित अतिथिले टेनिस बल टस गरी सुरुआत गरेका थिए। उक्त कार्यक्रममा ९ देखि १६ वर्षसम्मका करिब २ दर्जन नेपालीको सहभागिता रहेको थियो। सोसाइटीका प्रशिक्षकहरू विकास गुरुङ र शिवलाल सुवेदीले टेनिस खेल्न सिकाएका थिए।
गत हप्ताबाट सुरु गर्ने भनिएको उक्त कार्यक्रम एक हप्ता पछाडि सरेको थियो। सोसाइटीका सचिव टेकेन्द्र सुब्बाका अनुसार टाइफुनका कारण कार्यक्रम पछि सार्नुपरेको हो।
सन् २०१० मा सङ्गठित भएको सोसाइटीले नेपाली समुदाय र अन्तरसमुदायबीच विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ। संस्थाले सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

सोसाइटीले विगतदेखि नै प्रशिक्षण कार्यक्रम गर्दै आएको थियो। तर, यहाँको सरकारसँगको सहकार्यमा भने यो पहिलो पटक हो। सचिव सुब्बाका अनुसार भविष्यमा अझ बढी सहकार्य गर्दै हङकङमा नेपालीहरूबीच ‘स्पोर्टिङ कल्चर’ को जग बसाउने उद्देश्य सोसाइटीको छ।
टेनिस खेलले बालबालिकामा शारीरिक, मानसिक, सामाजिक, भावनात्मक विकास गर्दै अनुशासित बन्दै जीवन पद्धति अझ व्यवस्थित बनाउन सहयोग गर्दछ।
थ्रिएफ मोट्टो (फिटनेस, फन, फ्रेन्डसिप) रहेको सोसाइटीले निकट भविष्यमा विभिन्न देशका खेलाडी सम्मिलित ‘नेशन कप’ आयोजना गरिने सोसाइटीले जानकारी गराएको छ।
कार्यक्रम सोसाइटीका सचिव टेकेन्द्र सुब्बाले सञ्चालन गरेका थिए।

Shares

प्रतिक्रिया