हङकङको परराष्ट्र मन्त्रालयका आयुक्त कुई जियानचुनले हङकङका लागि नेपाली महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखकलाई कार्यस्वीकृति पत्र (एक्जिक्युटर) प्रदान गरेका छन्।
आयुक्त कुईको कार्यालयमा भएको भेटघाट समारोहमा जियानले उक्त प्रमाणपत्र प्रदान गरेका हुन्।
भेटघाट समारोहमा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा बधाई तथा शुभकामना आदानप्रदान भएको थियो।
भेटका क्रममा महावाणिज्यदूत लेखकले एक चीन सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै नजिकको छिमेकी र विश्वसनीय विकास साझेदारको नाताले चीनसँगको सम्बन्धलाई नेपालले सधैँ महत्त्व दिने बताए।
यसै अवसरमा लेखकले पारस्परिक हितका लागि आर्थिक र श्रम कूटनीतिलाई जोड दिनुपर्ने उल्लेख गरेका थिए। सँगै, हङकङमा रहेका नेपालीको हित र ट्रान्जिट भिसा जस्ता विषय पनि उठाएका थिए।

नेपाल र चीनबीचका उच्चस्तरीय भ्रमणको स्मरण गराउँदै लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणतर्फ इंगित गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको चर्चा गरेका थिए।
प्रधानमन्त्री ओली सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन जाँदै छन्। भि-जे दिवसको ८० औँ वार्षिकोत्सवमा समेत सहभागी हुने ओलीले १८ भदौसम्म चीन भ्रमण गर्ने तालिका रहेको छ।
आयुक्त कुईले महावाणिज्यदूत लेखकलाई एक्जिक्युटर प्रदान गर्दै हङकङको ‘एक देश, दुई प्रणाली’ र वित्तीय तथा व्यापारिक केन्द्रको रूपमा यसको स्थितिको बारेमा प्रकाश पारेका थिए।
कुईले हङकङको वित्तीय तथा व्यापारिक केन्द्रको फाइदा नेपाल र नेपाली व्यवसायीको पनि लागि सम्पत्ति रहेको उल्लेख गरे।
उनले नेपाल र हङकङबीच श्रम कूटनीति, व्यापार र लगानी, जनता-जनता आदानप्रदानमा नजिकबाट काम गर्ने इच्छा व्यक्त गरेका थिए।
भेटघाट समारोहमा आयुक्त कुईको साथमा कन्सुलर विभागका उपनिर्देशक सु मिन र तेस्रो सचिव चेन वेन्जिङ थिए भने महावाणिज्यदूत लेखकको साथमा कन्सुल सतीश गुरुङको उपस्थिति रहेको थियो।

Shares

प्रतिक्रिया