क्याथे प्यासिफिक एयरवेजले हङकङ-काठमाडौँ-हङकङ उडान अस्थायी रूपमा बन्दको घोषणा गरेको छ।
नेपालमा जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिलाई देखाउँदै क्याथेले उडान स्थगितको निर्णय लिएको हो।
एयरवेजले आफ्ना चालक दलका सदस्यको सुरक्षा चिन्ता उद्धृत गर्दै सेप्टेम्बर १५ देखि ३० सम्म उडान (सीएक्स६४०) निलम्बनको घोषणा गरेको हो।
निलम्बनको मुख्य कारकका रूपमा एयरवेजले होटल हायातमा भएको आक्रमणलाई देखाएको छ। यस होटलमा एयरवेजका पाइलट तथा क्याबिन क्रु बस्ने गरेका छन्।
त्यसैले, कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णयमा पुगेको एयरवेजले बताएको छ।
यसैबीच, निलम्बनबाट प्रभावित यात्रुलाई टिकट फिर्ता, रुट परिवर्तन वा पुन: बुकिङ विकल्प प्रदान गरिने एयरवेजले भनेको छ।
नेपालमा २३ गते जेनजीले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा अत्यधिक बल प्रयोग हुँदा २४ गते प्रदर्शनले उग्र रूप लिएको थियो।
२४ गते देशैभर भड्किएको उक्त प्रदर्शनले सरकारी, निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरेको थियो। यो प्रदर्शनीका क्रममा ज्यान गुमाउनेको संख्या हालसम्म ७२ पुगेको छ।
प्रदर्शनीले सत्ता संरचना नै उलटपुलट पारिदिएको छ। जननिर्वाचित प्रतिनिधि सभा विघटन भएको छ भने सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनेको छ।

Shares

प्रतिक्रिया