हङकङको नयाँ क्षेत्र (न्यु टेरिटोरिज) स्थित चिङ यीमा रहेको रिसाइक्लिङ साइटमा लागेको आगो ७ घण्टासम्म पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन।
स्टोनकटर्स ब्रिज नजिकै रहेको साइटमा बिहान ४ बजेदेखि लागेको आगो ११ बजेसम्म पनि पूर्ण नियन्त्रणमा आउन नसकेको हो।
स्थानीय मिडिया साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार मङ्गलबार बिहान ११ बजेसम्म पनि अग्निनियन्त्रकहरू नियन्त्रणका लागि खटिरहेका देखिन्थे।
यही ठाउँको नजिकै दुई दिनअघि पनि आगलागी भएको थियो। रिसाइक्लिङ साइटमा आगलागी भएको सूचना बिहान ४:१२ बजे अग्निनियन्त्रकले पाएका थिए।
अग्नि नियन्त्रण विभागका अनुसार हाल घटनास्थलमा ११ वटा दमकल, दुई वटा दमकल डुङ्गा र एउटा एम्बुलेन्सले आगो निभाउने प्रयास गरिरहेका छन्।
आगलागीमा धातु र इलेक्ट्रोनिक फोहोर जलेका छन्। ११ बजेसम्म कुनै मानवीय क्षतिको विवरण नआएको विभागले जनाएको छ। आगलागीको कारण भने अझै पत्ता लाग्न सकेको छैन।
Shares

प्रतिक्रिया