हेरचाह गर्ने जिम्मेवारी पाएको ११ महिने शिशुलाई बेन्चबाट बारम्बार धकेलेर लडाइदिएपछि मंगलबार हङकङमा एक भिडिओ एकाएक भाइरल बन्यो।
११ महिने र २ वर्षको बच्चालाई डुलाउन लिएर हिँडेकी दक्षिण एसियन मूलकी ८ वर्षीया बालिकाले ११ महिने शिशुलाई बारम्बार बेन्चबाट धकेलेर भुइँमा लडाइदिएको भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रोशित बने।
यता प्रहरीले भने लडाइदिने उक्त बालिकाकी आमालाई पक्राउ गरी जमानतमा छोडेको छ।
बेन्चबाट लडाइएको बच्चाको निधार र खुट्टामा चोट लागेको छ। बच्चालाई उनकी आमाले चुनमुन अस्पतालमा उपचारको लागि लगेकी थिइन्।
स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार त्यसरी धकेलेर लडाइदिने बालिका भारतीय मूलकी हुन् भने उनकी ३७ वर्षीया आमा पाकिस्तानी मूलकी हुन्।
बालबालिकाको हेरचाह गर्न राखिएको व्यक्तिले नै बच्चालाई दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीया ती महिलालाई प्रहरीले पक्राउ गरेको हो। अहिले उनी जमानतमा छुटिसकेकी छन्।
घटना हङहोमको ९ हङलोक रोडमा रहेको गुड मेन्सन संक्रमणकालीन आवासमा भएको स्थानीय मिडियामा उल्लेख छ।
घटना विवरणअनुसार, आठ वर्षीया ती बालिकाले दाजुबहिनी भएको विश्वास गरिएका दुई बच्चालाई घरबाट बाहिर खेलाउन लगेकी थिइन्। त्यति नै बेला उनले ११ महिनाको शिशुलाई त्यस्तो दुर्व्यवहार गरेकी हुन्।
स्थानीय बासिन्दाले रेकर्ड गरी सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओमा ती बालिकाले रोइरहेकी ११ महिनाको शिशुलाई दुई पटकसम्म बेन्चबाट धेकेलेर भुइँमा लडाइदिएको देखिन्छ। बच्चा घोप्टो परेर भुइँमा पछारिएको देखिन्छ।
घटनाको भिडिओ नजिकैका बासिन्दाले कैद गरी सामाजिक सञ्जालमा सेयर गरेपछि एकाएक भाइरल बनेको थियो। लगत्तै सम्पत्ति व्यवस्थापनका कर्मचारीले प्रहरीलाई रिपोर्ट गरेका थिए।
रिपोर्टपछि प्रहरीले ८ वर्षीया बालिकाकी आमालाई सम्पर्क गरी पक्राउ गरेको थियो। प्रहरीसँगको सोधपुछका क्रममा पक्राउ परेकी महिलाले आफूलाई थाहै नदिई छोरीले बालबालिकालाई बाहिर लगेको बताएकी थिइन्।
तर, सञ्जाल प्रयोगकर्ताले भने बालिकाको भरमा साना बालबालिकालाई किन छोडियो भनी महिलाप्रति निकै आक्रोशित देखिएका छन्।
Shares

प्रतिक्रिया