हङकङमा सीबीआरई ट्रेल दौडलाई छेकेन टी३ संकेतले, नेपाली दाजुभाइ बने तेस्रो र पाँचौँ

हङकङमा सीबीआरई ट्रेल दौडलाई छेकेन टी३ संकेतले, नेपाली दाजुभाइ बने तेस्रो र पाँचौँ

नेपालखबर
असोज १९, २०८२ आइतबार १८:४४, हङकङ

शनिबार गम्भीर उष्टकटिबन्धीय आँधी माट्मो हङकङतर्फ निजिकिँदै थियो, अब्जर्भेटरीले मध्यान्ह साढे १२ बजेभन्दा केही अघि टाइफुन नम्बर ३ जारी गर्‍यो।

राति १० बजेसम्मलाई जारी गरिएको टी३ संकेत आइतबार दिउँसोसम्म पनि लम्बिएकै थियो। सामान्यतया टाइफुन संकेत जारी भएको बेला समुद्रको तटीय क्षेत्र र डाँडाकाँडामा गरिने खेलकुद तथा अन्य गतिविधि नगर्न प्रशासनले अनुरोध गर्ने गर्दछ।

तर, आइतबार भने हङकङमा टाइफुन संकेतको कुनै पर्वाह नगरी यहाँको सर्वाधिक जोखिम र चुनौतीपूर्ण मानिने रुटमा दौड सम्पन्न भएको छ।

एक्सन एसिया इभेन्टको आयोजनामा हङकङको दोस्रो र तेस्रो अग्लो चुचुरो लान्ताउ र सनसेट पिकमा सीबीआरई ट्रेल रनिङ च्यालेन्ज सम्पन्न भएको हो।

दौडमा ६८ राष्ट्रका ५७२ धावकको सहभागिता थियो। जसमा हङकङवासी नेपाली दाजुभाइ सन्तोष तामाङ तेस्रो र सुजन तामाङ पाँचौँ विजेता बनेका छन्।

पुरस्कार ग्रहणपछि सुजन (बायाँ) र सन्तोष

सन्तोषले २ घण्टा ५७ मिनेट १३ सेकेन्डमा २४ किलोमिटरतर्फ तेस्रो स्थान हासिल गरेका हुन् भने सुजनले १५ किलोमिटरतर्फको निर्धारित दूरी १ घण्टा ४४ मिनेट ४६ सेकन्डमा पार गरी पाँचौँ स्थान सुरक्षित गरे।

यस दौड प्रतियोगितामा ५औँ प्रतिस्पर्धीसम्मलाई ट्रफी, मेडल र प्रमाणपत्रसहितको पुरस्कार वितरण गर्ने गरिन्छ।

सन्तोष र सुजन एकाघरका दाजुभाइ हुन्। सन्तोष नेपालखबरका हङकङ संवाददाता समेत हुन्।

दौडमा हङकङवासी अन्य नेपालीको पनि सहभागिता थियो। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसियसन (एचकेनुट्रा) प्रायोजक रहेको दौडमा संघकै माहासचिव वसन्त आङबुहाङ सह-सचिव सुष्मा गुरुङसहित आधा दर्जन बढी प्रतियोगी टोलीको नेतृत्व गर्दै मैदानमा थिए।

एचकेनुट्राको टोली

२४ र १५ किलोमिटर गरी दुई खण्डमा विभाजन गरिएको उक्त दौडको १५  किलोमिटरतर्फ डोम राना, राजकुमार राई, सुजन तामाङ, नविनकुमार देवान र  राजेन्द्र लिम्बू (याक्सा) सहभागी थिए।

त्यसैगरी २४ किलोमिटरतर्फ सन्तोष तामाङ, तुलबहादुर गुरुङ र टिकाराम गुरुङ सहभागी थिए।

आइतबार बिहान ७:३० र ८ बजेबाट सुरु भएको दौड उत्तरी लान्ताउ आइल्यान्ड अन्तरगत तुङचुङ सिटीगेटबाट सुरु भएर गङपिङ ट्रेल, काठे पुल ट्रेल, नेइ लक शान ट्रेल, बिगबुद्ध, लान्ताउ ट्रेलअन्तर्गत लान्ताउ पिक पाककुङ आउ, सनसेट पिक, वङलुङहाङ कन्ट्री ट्रेल, चेकलाप कक भिलेज हुँदै पुन: तुङचुङ सिटीगेटमा पुगेर अन्त्य भएको थियो।

आयोजक एक्सन एसिया इभेन्ट्सले २४ वर्षदेखि साहसिक इभेन्ट गराउँदै आएको छ।

यसले सिंगापुर, मलेसिया, थाइल्यान्ड, ताइवान, हङकङ, मुख्यभूमि चीन, नेपाल, काजाकिस्तान, मंगोलिया, भियतनाम, लाओस लगायत १० भन्दा बढी देशमा साहसिक यात्रा गराउनुका साथै अल्ट्रा ट्रेल दौड तथा असाधारण रिमोट म्याराथनको आयोजना गरी विश्वभर परिचय बनाइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .