हङकङ सरकारले मौसमी एन्फ्लुएन्जा खोप अनिवार्य रूपमा लगाउन सहरवासीलाई अनुरोध गर्दै आएको छ।
यति मात्र नभई निश्चित उमेर समूहलाई प्रत्येक वर्ष नि:शुल्क पनि लगाउँदै आएको छ। ६ महिनादेखि १८ वर्षमुनिका र ५० वर्षभन्दा माथिकालाई नि:शुल्क लगाउँदै आएको छ।
मौसमी एन्फ्लुएन्जाका कारण जटिल स्वास्थ्य समस्या ननिम्तियोस् भन्ने हेतुले सरकारले विभिन्न समुदायमा क्रियाशील संघसंस्था, जिल्ला परिषद् लगायतलाई सूचना प्रवाहका साथै अभियान सञ्चालनका लागि आग्रह गर्ने गर्छ।
यसै सन्दर्भमा आज याउचि मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ र एलेक्स पुनको संयुक्त कार्यालयले खोप कार्यक्रम आयोजना गर्यो। यस कार्यालयले पनि हरेक वर्ष यस्तो कार्यक्रम राख्दै आएको छ।
भिडिओ
कार्यक्रममा बोल्दै जिल्ला परिषद् सदस्य गुरुङले हङकङ सरकारले मौसमी इन्फ्लुएन्जा खोप नि:शुल्क लगाउन मिल्ने व्यवस्था गरेको जानकारी गराइन्।
‘६ महिनादेखि १८ वर्षमुनिका र ५० वर्षभन्दा माथिका बासिन्दाका लागि सरकारले नि:शुल्क खोपको व्यवस्था गरेको छ,’ गुरुङले भनिन्, ‘सरकारले बासिन्दाहरूलाई जतिसक्दो छिटो खोप लगाउनका लागि सूचना दिनू भनेर सरकारले हामीलाई भनेको छ। त्यसैले तपाईँहरू सबै जनालाई म भन्न चाहन्छु जति पनि हङकङका क्लिनिकहरू र अस्पतालहरूबाट यो सुविधा लिन सक्नु हुन्छ। यहीँ आउनु पर्छ भन्ने छैन। अरू संघसंस्थाहरूले पनि गरिरहेको छ। आउने दिनमा पनि गर्ला। त्यसैले सबैजनाले खोप लिनुहोला।’

जिल्ला परिषद्को कार्यालयले बासिन्दा र सरकारबीच पुलको भूमिका निर्वाह गर्ने गर्दछ। नेपाली समुदायले पहिलो पटक आफ्नै समुदायको जिल्ला परिषद् पाएको हो। गुरुङ जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दैै नेपाली समुदायबाट यो पदमा पुग्ने पहिलो नेपाली बनेकी हुन्।
आजको नि:शुल्क खोप कार्यक्रममा एनआरएनए हङकङ, याउमा तेई र चिमसा चोई समाज, भारत क्लब, चीन बंगलादेश मैत्री केन्द्र, हङकङ नेपाली महासंघ, नेपाली संघ हङकङ र हङकङ बहुसांस्कृतिक समुदाय संघ हङकङ सहयोगी भूमिका निभाएका थिए।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईले आफ्नो समुदायलगायत सम्पूर्ण हङकङवासीले समयमै र खोप लगाउन् भन्ने उद्देश्यले संस्थाले अभियानमा सहयोगी भूमिका निभाएको बताइन्।
Shares

प्रतिक्रिया