हङकङको भीषण आगलागीमा नेपाली परेको जानकारी छैन : महावाणिज्यदूतावास

हङकङको भीषण आगलागीमा नेपाली परेको जानकारी छैन : महावाणिज्यदूतावास

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १३:२३, हङकङ

हङकङमा बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म भएको भीषण आगलागीमा नेपाली परेको जानकारी हालसम्म प्राप्त नभएको हङकङस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ।

घटनापछि महावाणिज्यदूतावास निरन्तर रूपमा प्रहरी र सरकारी अधिकारीहरूसँग सम्पर्क रही आवश्यक जानकारी लिइरहेको र अहिलेसम्म नेपाली नागरिक हताहती भएको अप्रिय घटनाको जानकारी नआएको महावाणिज्यदूतावासले बिहीबार दिउँसो विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको हो।

सहरको ताईपोस्थित वाइफुक कोर्टका आवासीय भवनमा बुधबार दिउँसो करिब ३ बजेबाट लागेको भीषण आगलागीमा हालसम्म ४४ जनाले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा एक जना अग्निनियन्त्रक समेत रहेका छन्। 

यस्तै, अस्पतालमा रहेका ६८ जनामध्ये बिहीबार बिहान १० बजेसम्म १६ जनाको अवस्था गम्भीर र २५ जना चिन्ताजनक अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यसैगरी हिजो रातिदेखि नै हराइरहेका २७९ जनाको अवस्था अझै अज्ञात छ।

स्टेटका आठ ब्लकमध्ये सात ब्लकमा आगलागी भएको थियो। जसमध्ये ४ वटा भवनको आगो नियन्त्रणमा आइसकेको छ भने ३ वटाको माथिल्ला तलाहरू अझै बलिरहेको तथा उद्धार कार्य जारी रहेको पोस्ट बताउँछ। ४ वटा भवनमा आगलागी भएको १० घण्टापछि बिहीबार बिहान आगो नियन्त्रणमा आएको थियो।

सहरका प्रमुख कार्यकारी जोन लीले आगलागी भएका भवनको निरीक्षणका साथै मर्मतसम्भार भइरहेका सहरका सबै सार्वजनिक आवासीय सम्पत्तिको निरीक्षण गर्न आदेश दिइसकेका छन्। 

जुलाई २०२४ देखि स्टेटका आठ आवासीय ब्लकको मर्मतसम्भार भइरहेको थियो जसलाई बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको थियो। मर्मतसम्भार चलिरहेको उक्त भवनहरूमा स्टाइरोफोम सामग्री फेला परेको अधिकारीहरूले बताएका छन्, जसका कारण आगो द्रुत गतिमा फैलन सहयोग पुर्‍याएको उनीहरूको निचोड छ।

सरकारले घातक आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको जनाएको छ। आगलागीमा परेकाका उक्त भवनहरूको मर्मतसम्भारको जिम्मेवारी पाएका ठेकेदारका दुई निर्देशक तथा एक सल्लाहकारसहित तीन जनालाई भवन निर्माण कार्यमा गम्भीर लापरवाही गरेको आरोपमा पक्राउ परिसकेका छन्।

अधिकारीहरूको प्रारम्भिक रिपोर्टले देखाएअनुसार, प्रत्येक तलामा अत्यधिक प्रज्वलनशील स्टाइरोफोम क्लोकिङ लिफ्ट झ्याल फेला पारेका छन्, जसले गर्दा ब्लकभित्र आगो छिटो फैलियो र करिडोर हुँदै फ्ल्याटहरूमा पुग्यो। भवन बाहिर प्रयोग गरिएका जालीलगायतमा पनि सुरक्षा मापदण्ड पूरा नगरेको देखियो।

पक्राउ परेका ३ जनालाई हत्या आरोपमा पक्राउ गरिएको हो। किनकि, उनीहरूले स्काफोल्डिङ जालीहरूमा गैरअनुपालन सामग्री प्रयोग गरेको र स्टाइरोफोमले झ्यालहरू बन्द गरेको देखिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .