हङकङको ताईपोस्थित वाङफुक कोर्टमा भएको भीषण आगलागीमा मृत्यु हुने संख्या ५५ पुगेको छ। अग्नि सेवा विभागका अनुसार, मृतक ५५ जनामध्ये ५१ जनाको घटनास्थलमै र चार जनाको अस्पताल लगिएपछि मृत्यु भएको हो।
अधिकारीहरूले दिएको पछिल्लो विवरणअनुसार, अस्पतालमा रहेका ७६ जना घाइतेमध्ये १५ जना गम्भीर र २८ जनाको चिन्ताजनक अवस्था छ। आगलागीमा फसेका ६२ जनाको युद्धस्तरमा उद्धार कार्य जारी छ।
हङकङको ताईपोस्थित वाङफुक कोर्टका सात आवासीय भवनमा बुधबार दिउँसो करिब ३ बजेदेखि भीषण आगलागी भएको थियो। जसमध्ये ४ वटा भवनको आगो बिहीबार बिहान निभाइएको थियो भने बाँकी ३ भवनमा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको र उद्धार कार्य जारी रहेको विभागले बिहीबार दिउँसोको पत्रकार सम्मेलनमा जानकारी गराएको छ। आगो नियन्त्रणमा आए पनि पूर्ण रूपमा निभिसकेको भने छैन।
ठूलो संख्यामा मानवीय हताहती भएको घटनामा नेपाली परेको जानकारी नआएको हङकङस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ।
सहरका प्रमुख कार्यकारी जोन लीले आगलागी भएका भवनको निरीक्षणका साथै मर्मतसम्भार भइरहेका सहरका सबै सार्वजनिक आवासीय सम्पत्तिको निरीक्षण गर्न आदेश दिइसकेका छन्।
ठूलो विपत् आइलाग्न पुग्दा डिसेम्बर ७ का लागि तोकिएको निर्वाचनका कार्यक्रमहरू स्थगित गरिएका छन्। यसबारे समीक्षा गरेर पछि निर्णय गरिने सहरका प्रमुख कार्यकारी जोन लीले बताएका छन्।
जुलाई २०२४ देखि स्टेटका आठ आवासीय ब्लकको मर्मतसम्भार भइरहेको थियो जसलाई बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको थियो। मर्मतसम्भार चलिरहेको उक्त भवनहरूमा स्टाइरोफोम सामग्री फेला परेको अधिकारीहरूले बताएका छन्, जसका कारण आगो द्रुत गतिमा फैलन सहयोग पुर्याएको उनीहरूको निचोड छ।
सरकारले घातक आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको जनाएको छ। ग्राफ्टबस्टरहरूले ३३० मिलियन हङकङ डलर मूल्यमा सुरु गरिएको मर्मत कार्यको अनुसन्धान सुरु गरेका छन्।
त्यस्तै, मर्मतसम्भारको जिम्मेवारी पाएका ठेकेदारका दुई निर्देशक तथा एक सल्लाहकारसहित तीन जनालाई भवन निर्माण कार्यमा गम्भीर लापरवाही गरेको आरोपमा पक्राउ परिसकेका छन्।
अधिकारीहरूको प्रारम्भिक रिपोर्टले देखाएअनुसार, प्रत्येक तलामा अत्यधिक प्रज्वलनशील स्टाइरोफोम क्लोकिङ लिफ्ट झ्याल फेला पारेका छन्, जसले गर्दा ब्लकभित्र आगो छिटो फैलियो र करिडोर हुँदै फ्ल्याटहरूमा पुग्यो। भवन बाहिर प्रयोग गरिएका जालीलगायतमा पनि सुरक्षा मापदण्ड पूरा नगरेको देखिएको छ।
पक्राउ परेका ३ जनालाई हत्या आरोपमा पक्राउ गरिएको हो। किनकि, उनीहरूले स्काफोल्डिङ जालीहरूमा गैरअनुपालन सामग्री प्रयोग गरेको र स्टाइरोफोमले झ्यालहरू बन्द गरेको देखिएको छ।
Shares

प्रतिक्रिया