बुधबारको विनासकारी आगलागीबाट यतिबेला हङकङ शोकमग्न छ। शुक्रबार दिउँसोसम्मको पछिल्लो विवरणअनुसार हालसम्म एक अग्निनियन्त्रकसहित १२८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने थप १६ जनाको शव निकाल्ने प्रयास जारी छ।
त्यस्तै, १२ अग्निनियन्त्रकसहित ७९ जना घाइते अवस्थामा छन् भने दुई सय जनाको अवस्था अझै अज्ञात छ।
साढे ४ हजार मानिसको बसोबास रहेको भनिएको ताईपोस्थित वाङफुक कोर्टका आठ वटा आवासीय भवमध्ये सात वटामा लागेको आगोले उक्त विनास निम्त्याएको थियो।
बुधबार दिउँसो करिब ३ बजेबाट सुरु भएको आगलागीलाई नियन्त्रणमा लिनका लागि तुरुन्तै अग्नियन्त्रकहरू खटिए। मर्मत सम्भार कार्यमा प्रयोग हुने अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्रीका कारण आगो द्रुत गतिमा फैलियो र ठूलो विनास निम्त्यायो।
सोही घटनामा आफ्नो जिम्मेवारी पूरा गर्न खटिएका अग्निनियन्त्रक हो वाईले आगलागी सुरु भएको केही घण्टामै ज्यान गुमाए।
कर्तव्यबोधसहित आगोसँग लड्ने क्रममा घाइते हुन पुगेका उनको बुधबार दिउँसो पौने पाँच बजे प्रिन्स अफ वेल्स अस्पतालमा मृत्यु घोषणा गरियो।
हो ९ वर्षदेखि अग्नि सेवा विभागमा कार्यरत थिए। बुधबारको आगलागीमा आगो निभाउन खटिँदा उनी शातिन अग्नि स्टेसनमा तैनाथ थिए।
कर्तव्यपालनका क्रममा ज्यान गुमाएका होको यतिखेर परिवार र प्रियजनले विभिन्न माध्यमबाट समवेदना प्रकट गरिरहेका छन्। दु:खको यो क्षणमा भावविह्वल आफन्तले गर्वमिश्रित आँसु चुहाएका छन्।
यसैमा पर्छिन् होकी प्रेमिका। जसले बिहीबार सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै दिवंगत आफ्ना प्रेमीलाई ‘सुपरहिरो’ भनेकी छन्। जहाँ उनी लेख्छिन्, ‘म साँच्चै, साँच्चै फेरि पनि तिम्रो हात समाउन चाहन्छु।’
घटनालाई पत्याउन नसकिने भनेकी उनले समाचार सत्य नहोस् भन्नका लागि इन्टरनेट चलाउनै छोड्न मन लागेको उल्लेख गरेकी छन्।
हङकङको यो पछिल्लो आगलागीको घटना सात दशकपछिको ठूलो विनाशकारी रहेको स्थानीय सञ्चारमाध्यमहरूमा समाचार आइरहेको छ। सात दशकअघि ४१ जनाको ज्यान जाने गरी आगलागी भएको थियो। त्यसपछि यति ठूलो संख्यामा हताहती हुनेगरी भएको यो नै घटना हो। जुन संख्याको हिसाबले त्यो बेलाको भन्दा निकै माथि छ।
यति ठूलो मानवीय र भौतिक क्षति हुने गरी भएको आगलागीमा नवीकरण कम्पनीप्रति जनआक्रोश बढेको छ भने सरकारले पनि यसका जिम्मेवार व्यक्तिलाई पक्राउ गरिसकेको छ।
यसअघि नवीकरण कम्पनी प्रेस्टिज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका तीन वरिष्ठ कर्मचारीलाई पक्राउ गरिएको थियो भने शुक्रबार भ्रष्टाचारविरुद्धको स्वतन्त्र आयोग (आईसीएसी)ले नवीकरण कम्पनीको परामर्शदाता फर्म विल पावर आर्किटेक्ट्सका दुई निर्देशकलाई पक्राउ गरेको छ। यो सँगै पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।
आगलागीमा परेका भवनको ३३ करोड हङकङ डलरको बजेटमा २०२४ को जुलाईबाट मर्मत कार्य सुरु गरिएको थियो। भ्रष्टाचार विरोधी निकाय (आईसीएसी)ले दुई जनालाई पक्राउसँगै भ्रष्टाचारको छानबिन सुरु गरिएको जनाएको छ।
Shares

प्रतिक्रिया