गतवर्ष घरेलु कामदारका रूपमा हङकङ आएकी फिलिपिनो रेनालिन निरेले बुधबारको ताईपो आगलागीमा भागेर ज्यान बचाइन्। उनी मात्र बचिनन् जसको हेरालुको रूपमा उनले जागिर खाएकी थिइन्, ती ३ वर्षीया बालिकालाई पनि बचाइन्।
त्यस दिन उनी ताईपोस्थित वाङफुक कोर्टमा आफूले काम गर्ने परिवारको तेस्रो तलाको फ्ल्याटमा बच्चासँग सुतिरहेकी थिइन्। बच्चाका आमाबाबु भने काममा गएका थिए।
यतिबेलै नजिकैको ताओ हाउसमा आगो लागेको देखियो। उनी र उनका छिमेकीले आगो आफूहरू बसेको ठाउँसम्म नआइपुग्ने निचोड निकाले।
त्यति नै खेर निरेको फोन बज्यो। एक साथीले भवनमा आगो लागेको र छिटो निस्कन भने। उनले यो खबर छिमेकीलाई पनि सुनाइन्। तर, छिमेकी उनको कुरामा विश्वस्त भएनन्, आगो ताओ हाउसमा लागेको र आफूहरूसम्म नआइपुग्ने जिद्दीमै रहे।
तर, निरेको मनमा भने चिसो पसिसकेको थियो। उनले छिमेकीको जिद्दीलाई त्यहीँ छोडेर तीन वर्षको बच्चा च्यापी फ्ल्याटबाट निस्किइन्। जब उनी त्यहाँबाट निस्किइन्, साथी सही थिए, धुवाँले भरिएको भर्याङ हुँदै उनी बाहिर निस्कन सफल भइन्। निस्कने क्रममा माथिबाट खसेको आगोको भुङ्ग्रोलाई कसो कसो छलिन्।
भाग्ने क्रममा बाँसको स्काफोल्डिङमा ठोकिएको दुखाइ भने अझै छ। निरे त्यति ठूलो आगलागीबाट बच्न र बालिकालाई बचाउन सकेको हर्षित छन्, त्यो भन्दा बढी हर्ष उनलाई रोजगारदताको स्याबासीले दिएको छ। छोरीको ज्यान बचाइदिएकोमा रोजगारदाताले उनलाई धन्यवाद दिँदै भनेका थिए, ‘यु आर माई हिरो।’
निरेलाई यी कुराले खुसी दिइरहँदा छिमेकीको सम्झनाले भने झस्काइरहन्छ। अनि मनमनै भन्छिन्– छिमेकीले मैले भनेको मानिदिएको भए… मैले उनलाई भाग्नको लागि जोड दिनुपर्थ्यो आदि।
आगो आफूसम्म नआइपुग्ने विश्वासमा बाहिर निस्कन इन्कार गरेकी छिमेकी मृत फेला परेकी थिइन्। (एससीएमपीबाट भावनानुवाद)
Shares

प्रतिक्रिया