मध्यपूर्व द्वन्द्वका कारण इन्धनको मूल्यमा वृद्धि भइरहेपछि हङकङको ग्रेटर बे एयरलाइन्सले हङकङ र बैंकक बीचका आफ्ना अधिकांश उडान चार महिनाभन्दा बढी समयका लागि स्थगित गरेको छ।
बिहीबार बेलुकासम्म एयरलाइन्सको वेबसाइटमा देखिएअनुसार मे १२ देखि सेप्टेम्बर २२ बीचका धेरैजसो मितिमा हङकङ र बैंकक बीच कुनै पनि उडान तालिका थिएन।
इन्धनको बढ्दो मूल्यका कारण सेवा समायोजन गर्नुपरेको र यसबाट प्रभावित यात्रुलाई पर्ने असरप्रति कम्पनीले माफी समेत मागेको छ।
‘इन्धनको मूल्यमा निरन्तर वृद्धिका कारण ग्रेटर बे एयरलाइन्सले केही मार्गका सेवा छोटो अवधिको लागि समायोजन गरेको छ,’ एयरलाइन्सले भनेको छ, ‘हामी प्रभावित यात्रुहरूलाई सम्पर्क गर्नेछौँ र असुविधालाई कम गर्न उपयुक्त व्यवस्था गर्नेछौँ। साथै, प्रभावित यात्रुहरूप्रति क्षमाप्रार्थी छौँ।’
फेब्रुअरीको अन्त्यमा मध्यपूर्व द्वन्द्व सुरु भएदेखि इन्धन बजार अस्थिर रहेको छ र निरन्तर मूल्य वृद्धि भइरहेको छ।
Shares

प्रतिक्रिया