हङकङमा म:म फेस्ट हुने भएको छ। ७३औँ अन्तर्राष्ट्रिय एभरेस्ट दिवसको अवसर पारेर नेपाली महावाणिज्य दूतावास, हङकङ र गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले ‘एभरेस्ट म:म फेस्ट २०२६’ गर्न लागेका हुन्।
कार्यक्रम मे ३१, आइतबारका दिन एभरेस्ट रेस्टुरेन्टमा हुनेछ। दिउँसो १ बजेदेखि साढे ४ बजेसम्म हुने कार्यक्रममा गर्न लागिएको कार्यक्रममा हङकङका उत्कृष्ट नेपाली रेस्टुरेन्टहरूले एउटै छानामुनि बसेर आ-आफ्ना विशेष म:म पस्कनेछन्। जहाँ म:म पारखीले स्टिम्ड, झोल, कोथे लगायतका म:मको स्वाद लिन पाउने छन्।
आयोजकले दिएको जानकारीअनुसार, नि:शुल्क प्रवेश रहेको कार्यक्रमस्थलमा दिइने ‘म:म पासपोर्ट’मार्फत विभिन्न रेस्टुरेन्टका म:म नि:शुल्क खान पाइनेछ। म:म खाएको बदलामा भने सहभागीले लाइभ भोटिङमा समावेश हुनुपर्नेछ। क्युआर कोडमार्फत सहभागीले गरेको भोटिङबाट ‘बेस्ट म:म इन एचके २०२६’ चुनिनेछ।
हङकङका नेपालीका साथै स्थानीय युवालाई पनि लक्षित गरेर डिजाइन गरिएको फेस्टिवलबाट नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य राखिएको आयोजक एनआरएनए हङकङले जनाएको छ। यसबाट पर्वतारोहण, नेपालको खाना परम्परा तथा प्रेरणादायी कथाहरूमार्फत अन्तर-सांस्कृतिक घुलनलाई बढावा दिने एनआरएनए हङकङका महासचिव इन्दर पुन बताउँछन्।
कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी र विशेषगरी सगरमाथा आरोहीका रोमाञ्चक कथा पस्किइनेछन्। सगरमाथासम्बन्धी भिडिओ, पदयात्रा मार्गहरूको चिनारी, नेपालका विभिन्न संस्कृतिको प्रदर्शन, सिनेमाइ भिडिओ, म:म भिडिओ आदि कार्यक्रम प्रस्तुत गरिनेछन्।
एनआरएनए हङकङ अध्यक्ष अनु राईको किनोट सम्बोधन रहने कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, हङकङका प्रतिनिधिले नेपाल-हङकङ द्विपक्षीय सम्बन्ध, पर्यटनका अवसर लगायतका विषयमा प्रकाश पार्ने छन्।
यसैगरी, सगरमाथा आरोहणबाट प्रख्याती कमाएका आरोहणकर्तको एकल प्रस्तुतिमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको प्रत्यक्ष अनुभव साझा हुने छन्। सगरमाथा आरोहण गरेका हङकङ चिनियाँ आरोहीले पनि कार्यक्रममा शोभा बढाउनेछन्।
कार्यक्रममा १५ मिनेट दर्शकहरूसँगको प्रश्नोत्तरका लागि छुट्याइएको आयोजकले जनाएको छ। ‘एभरेस्ट म:म फेस्ट’ नाम दिइएको यस कार्यक्रममा हङकङका नेपाली रेस्टुरेन्टका ५ देखि १० स्टल रहनेछन्, जहाँ उनीहरूले आ-आफ्ना विशेषताका पाककला पस्कनेछन्।
Shares

प्रतिक्रिया