चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूले पश्चिमी युरोपेली बजारमा आफ्नो प्रभाव बढाउँदै गएका छन्। यहाँका सडकमा बढ्दै गइरहेको विद्युतीकरणको गतिले चीनमा विकसित स्मार्ट कारहरूको बिक्री बढाउने अपेक्षा चिनियाँ स्मार्ट कार निर्माता कम्पनीहरूले राखेका हुन्।
विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडीदेखि लिपमोटरसम्मका चिनियाँ कार निर्माता कम्पनीहरूले २०२८ सम्मामा पश्चिमी युरोपका जर्मनी, इटाली, फ्रान्स, संयुक्त अधिराज्यलगायतका देशका ग्राहकलाई २५ लाख कार पुर्याउने लक्ष्य राखेका हुन्। यो लक्ष्य गत वर्षको तुलनामा १५० प्रतिशतले वृद्धि भएको बताउँछन् जेपीमोर्गनको एसिया-प्रशान्त क्षेत्रका अटो अनुसन्धान प्रमुख निक लाई।
एक अन्तर्वार्तामा लाईले भनेका छन्, ‘युरोपभरि विद्युतीकरण तीव्र गतिमा भइरहेको छ, जसले गर्दा चिनियाँ उपकरण निर्माता कम्पनीहरूको उत्पादन बढ्ने वातावरण सिर्जना भइरहेको छ। यो अवस्थामा चिनियाँ उत्पादनले युरोप, एसिया र ल्याटिन अमेरिकाका बजारमा हिस्सा राख्नेछन्।’
२०२५ मा चीनबाट निर्यात हुने चिनियाँ कार र स्थानीय रूपमा निर्मित सवारी साधनले पश्चिमी युरोपमा कुल नयाँ कार बिक्रीको १० प्रतिशत ओगटेका थिए।
जेपी मोर्गनले यसअघि नै भविष्यवाणी गरिसकेको थियो कि सन् २०३० सम्ममा पश्चिमी युरोपमा नयाँ सवारी साधन बिक्रीको १५ प्रतिशत हिस्सा चिनियाँ कारले ओगट्ने छन्।
पछिल्लो समय चीनमा उत्पादित धेरैजसो ईभीमा स्व-ड्राइभिङ प्रणाली, डिजिटल ककपिट, ठूला प्यानलहरू र यदाकदा अन-बोर्ड फ्रिज जडान गरिएका छन्, यसले उपभोक्तालाई स्थापित अन्तर्राष्ट्रिय पेट्रोल कारका ब्रान्डबाट टाढा लैजाने तर्क विश्लेषकहरूको छ।
चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्याङ्क अनुसार, गतवर्ष युरोपेली संघका ग्राहकहरूले खरिद गरेका चिनियाँ ब्रान्डका लगभग ७० प्रतिशत सवारी साधनहरू शुद्ध विद्युतीय वा प्लग-इन हाइब्रिड कार थिए।
फेब्रुअरी २८ मा सुरु भएको इरानसँगको अमेरिका-इजरायल युद्धका कारण कच्चा तेलको मूल्य ४० प्रतिशतभन्दा बढीले बढेपछि युरोपेली उपभोक्ताहरूमा विद्युतीय कारमा रुचि बढ्दै गएको देखिन्छ। (एससीएमपी)
Shares

प्रतिक्रिया