हङकङ अब्जर्भेटरीले शुक्रबार टाइफुन नम्बर १ संकेत जारी हुनसक्ने जनाएको छ। हाल फिलिपिन्स नजिकै रहेको चक्रवात शुक्रबार सहर नजिकै आइपुग्ने अनुमानसहित अब्जर्भेटरीले यस्तो संकेत गरेको हो।
मौसम पूर्वानुकर्ताका अनुसार हाल फिलिपिन्सको पूर्वमा रहेको चक्रवात शुक्रबार पूर्वी ग्वाङदोङको तट नजिक आइपुग्ने र क्रमश: तीव्र हुन सक्छ।
‘हालको अनुमान अनुसार, आँधी हुइझोउदेखि सान्ताउसम्म पस्ने सम्भावना बढी छ तर हङकङबाट यसको दूरी भने अनिश्चित छ,’ अब्जर्भेटरीले भनेको छ, ‘आँधीको प्रभावका कारण शनिबार अबेरदेखि आइतबारसम्म ग्वाङदोङ तटमा तीव्र हावाहुरी र र मेघगर्जनसहित वर्षा हुनेछ।’
उष्णकटिबंधीय चक्रवात शुक्रबार लुजोन स्ट्रेट पार गरेर हङकङबाट ८०० किलोमिटरको दूरीमा प्रवेश गर्ने अनुमान अब्जर्भेटरीको छ।
पूर्वानुमानकर्ताका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा आँधी तीव्र हुन सक्छ। जब यो हङकङबाट ४०० किलोमिटर उत्तरपूर्व आइपुग्छ यसको केन्द्र र वरपर १३० किलोमिटर प्रतिघण्टाको दरले हुरीबतास चल्नेछ।
आँधी प्रभावको मूल्याङ्कन गर्दै शनिबार पश्चात् उच्च चेतावनी संकेतबारे विचार गरिने पनि अब्जर्भेटरीले जनाएको छ।
Shares

प्रतिक्रिया