‘मेड इन चाइना’ कि ‘मेड इन हङकङ’? हङकङ-अमेरिका आमनेसामने

‘मेड इन चाइना’ कि ‘मेड इन हङकङ’? हङकङ-अमेरिका आमनेसामने

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार ०:५३,

हङकङ सरकारले आफ्नो देशमा बनेका सामानमा ‘मेड इन चाइना’ लेबल लगाउने अमेरिकाको प्रयासविरुद्ध कदम चाल्ने चेतावनी दिएको छ।

अमेरिकाको उक्त कोसिस व्यापार नियमको उल्लंघन भएको उल्लेख गर्दै हङकङकका अधिकारीले यसविरुद्ध विश्व व्यापार संगठनकै ढोका ढकढक्याउन जाने बताएका छन्।

हङकङलाई चीनले आफ्नो एक अंश मान्छ। यही वर्ष जुनमा चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेको छ।

यो नयाँ कानुनबमोजिम यहाँका व्यवसाय अन्य चिनियाँ व्यापारजस्तै हुनेछन् र तिनले विश्वव्यापी रूपमा कुनै विशेष सुविधा प्राप्त गर्ने छैनन्।

यसपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले हङकङलाई दिने गरेको विशेष आर्थिक मान्यता खारेज गर्दै अबदेखि हङकङबाट अमेरिका आयात हुने सामानमा ‘मेड इन हङकङ’ को सट्टा ‘मेड इन चाइना’ लेख्न भनेका हुन्। 

ट्रम्पले हङकङ अब एक चिनियाँ सहरमा परिणत भएको बताएका छन्। 

‘मेड इन चाइना’ को माग
गत जुलाईमा डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश पारित गर्दै अबदेखि हङकङ स्वायत्त देश नरहेकाे र चीनकै एक हिस्सा भएको घोषणा गरेका हुन्।

आदेशमा भनिएको छ– ‘अमेरिकाको नीतिअनुसार अबदेखि हङकङ त्यस्तो स्वायत्त क्षेत्र रहेन, जोसँग चीनसँग भन्दा फरक सम्बन्ध राखौं। यसअघि चीनले जुन सुरक्षा कानुन हङकङमा लागू गरेको छ, त्यसबमोजिम यहाँ बन्ने सामानमा ‘मेड इन चाइना’ स्टिकर टाँस्न जरुरी छ र यहाँका सामान अन्य देशमा लगिँदा यही स्टिकरका साथ लगिनुपर्छ।’

शुक्रबार हङकङका अधिकारीले याे मुद्दा अब विश्व व्यापार संगठन व्यवस्थापन निकायमा लाने र अमेरिकासँग दुईपक्षीय बहस गर्ने बताएका हुन्। 

समाचार एजेन्सी एएफपीका अनुसार हङकङका व्यापार सचिव एडवर्ड याउले पत्रकार सम्मेलनमा भने, ‘अमेरिका एकतर्फी र गैरजिम्मेवार ढंगले हङकङको एक अलग्गै अस्तित्व कमजोर पार्ने दुष्प्रयासमा लागेको छ। यो कदमले विश्व बजारमा भ्रम पैदा गर्नेछ र यो बहुपक्षीय व्यापार प्रणालीकै उल्लंघन हो।’

सचिव याउका अनुसार यस विषयमा अमेरिकालाई गत सेप्टेम्बरमै पत्र पठाएर सचेत गराइएकाे थियाे। तर उसले देखाएकाे रवैयाका कारण अब विश्व व्यापार संगठनमै जानुपर्ने देखिएकाे हाे। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .