चिनियाँ जनमुक्ति सेना– पीएलए हङकङका कमाण्डरले हङकङमा भइरहेका हिंसात्मक घटनाहरूले सामाजिक व्यवस्थालाई चुनौती दिएको भन्दै चीनको सार्वभौमिकता जोगाउन सैनिकहरु तयार रहेको बताएका छन्।
पीएलएले हङकङ कमाण्डर छन दाओसिङको चेतावनीसहितको ११ मिनेट लामो एउटा भिडियो र सैन्य शक्ति प्रदर्शनसहितको ३ मिनेटको अर्को भिडियो बुधबार आफ्नो आधिकारिक वेबो पेजबाट सार्वजनिक गरेपछि यसले ठूलो तरंग सिर्जना गरेको छ।
यो भिडियो ठिक त्यस्तै शैलीमा सार्वजनिक भएको छ, जसरी चीन–भारतबीच दोक्लम क्षेत्रमा सैन्य विवाद हुँदा पीएलएले तिब्बतमा युद्धको तयारी भइरहेको आशयको भिडियो सार्वजनिक गरेको थियो।

केही सातायता हङकङमा भइरहेको सुपुर्दगी विधेयक विरोधी प्रदर्शनको क्रममा पीएलएबाट आएको यो पहिलो प्रतिक्रिया हो, जसले हङकङमा ठूलो चर्चा पाएको छ।
भिडियोमा कमाण्डर छनले अब हङकङमा हुने हिंस्रक प्रदर्शनलाई स्वीकार नगर्ने र त्यो असह्य हुने चेतावनी दिएका छन्। छनले यस्तो कडा अभिव्यक्ति चाहिँ पीएलएको वार्षिकोत्सवको अवसरमा हङकङको एडमिरल्टीस्थित आफ्नो मुख्यालयमा आयोजित कार्यक्रममा दिएका हुन्।

सुपुर्दगी विधेयक विरुद्धको प्रदर्शनको क्रममा आन्दोलनकारीले हङकङस्थित चीन सरकारको लियाजन कार्यालयमा समेत आक्रमण प्रयास गरेपछि सेनाबाट कडा प्रतिक्रिया आएको हो। छनले जटिल परिस्थिति सामना गर्न सेनाहरु तयार रहेको उल्लेख गरेका छन्।
पीएलएको आधिकारिक वेबो पेजबाट सार्वजनिक गरिएको ३ मिनेट लामो भिडियोमा हङकङमा भइरहेको आन्दोलन पीएलएले कसरी नियन्त्रणमा लिनसक्छ भनेर देखाउन खोजिएको छ।

सामान्यतः पीएलएले गर्ने पोष्ट भन्दा फरक गरि भिडियोमा हङकङ र विदेशमा रहेका अँग्रेजीभाषीलाई समेत लक्षित गरि अंग्रेजी सव टाइटल राखिएको छ।
भिडियोमा एक जना सैनिक जवानले हङकङमा बोलिने क्यान्टोनिज भाषामा सबै जोखिम मोल्न तयार रहन चेतावनी दिएका छन्।

अर्को ११ मिनेटको भिडियो चाहिँ हङकङ कमाण्डर छनले सम्बोधन गरेको देखाइएको छ।
‘भर्खरै हङकङमा जुन हिंसात्मक घटनाहरू भए त्यसले यहाँको स्थिरता र सम्वृद्धिलाई ध्वस्त पार्नेछ’, छनले भनेका छन्, ‘र, कानुनको शासन र सामाजिक व्यवस्थालाई पनि चुनौती दिनेछ।’


प्रतिक्रिया