हङकङ बन्दको तयारीका लागि शनिबार ‘वार्मअप’ प्रदर्शन गर्ने क्रममा शनिबार मोङकक क्षेत्रबाट २० जना बढी पक्राउ परेका छन्।
सुपुर्दगी विधेयक विरोधी आन्दोलन झन् विस्तार हुँदै जाने क्रममा आन्दोलनकारीले सोमबार, ५ अगष्टमा हङकङमा आम हड्ताल गर्ने घोषणा गरेका छन्।
आम हड्तालका लागि तायरी गर्ने क्रममा शनिबार हङकङको मोङककमा ‘वार्मअप’ प्रदर्शन गरिएको थियो। प्रदर्शनको क्रममा हिंसा भड्किएपछि मोङकक, चिमसाचोई र वोङ ताई सिनबाट २० भन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरिएको प्रहरीलाई उद्धृत गर्दै आरटीएचकेले जनाएको छ।
प्रहरीले तोकिदिएको रुटको अवज्ञा गर्दै आन्दोलनकारीले मुख्य सडक र व्यापारिक क्षेत्र ठप्प पारेका थिए। प्रहरीले गैरकानुनी रुपमा भेला भएको, धातक हतियार बोकेको र दुव्र्यवहार गरेको कारण आन्दोलनकारीलाई पक्राउ गरिएको दाबी गरेको छ।
शनिबार अपरान्ह ३ः३० बजे सुरु भएको आन्दोलनकारीको जुलुस नाथन रोड कब्जा गर्दै याउमातेइ, जोर्डन, चिमसाचोइ भएर सेन्ट्रल हार्बर टनेलसम्म पुगेको थियो। यो क्षेत्र नेपालीको बाक्लो बसोबास रहेको क्षेत्र हो।
प्रदर्शनकारीले मेट्रो टनेल र सडकमा अवरोध गरि यातायात ठप्प पारेका थिए। जुलुश आएपछि सडक छेउका पसलहरु बन्द भएका थिए।
प्रदर्शनकारीले मोङकक र चिमसाचोईका प्रहरी स्टेसन घेरा हालेर प्रहरी विरुद्ध नाराबाजी गर्दै इँटा र अन्डाले प्रहार गरेका थिए। आन्दोलनकारीले चिमसाचाई प्रहरी परिसरका २० वटा सवारी साधन तोडफोड गरिदिएका छन्। भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो।
शनिबारको ‘वार्मअप’ प्रदर्शनमा १ लाख २० हजारले भाग लिएको आयोजकको दाबी छ। प्रदर्शनले हिंसात्मक रुप लिँदा यातायात र व्यवसाय नराम्ररी प्रभावित भएको थियो भने सर्वसाधारण त्रसित देखिन्थे।
बेलायत र अमेरिकाको झण्डा बोकेका प्रदर्शनकारीले चीनको झन्डा समुद्रमा फालिदिएका थिए। प्रदर्शनकारीले जानाजान हिंसा सिर्जना गर्न खोजेको आरोप प्रहरीको छ भने सरकारले विज्ञप्ती मार्फत घटनाको निन्दा गरेको छ।
‘आन्दोलनकारीको गैरकानुनी गतिविधि र सडक अवरुद्ध गर्ने लगायतका क्रियाकलापले परिस्थिति थप जटिल बन्दै गएको छ’, सरकारको विज्ञप्तीमा भनिएको छ, ‘यसले अभिव्यक्ति स्वतन्त्रता र सभ्य समाजको खिल्ली उडाएको छ। साथै कानुनी व्यवस्थाको उपहास गर्दै देशको सम्प्रभुतामाथि ठाडो चुनौती दिएको छ।’
हिंसात्मक गतिविधिमा संलग्न हुने प्रदर्शनकारीलाई प्रहरीले न्यायको कठघरामा उभ्याउने चेतावनी दिइएको छ।
शनिबार नै कजवे बेस्थित भिक्टोरिया पार्कमा प्रहरीको समर्थनमा प्रदर्शन भएको छ। ‘शान्तिका लागि एक मौका दिनुहोस्’ भन्ने नारा सहित करिब ९० हजार मानिस भेल भएको सरकार समर्थकहरुको दाबी छ।
सोमबार आम हड्तालको आह्वानकर्ता प्रदर्शनकारीले आफुलाई ‘हङकङका बासिन्दा’ भनेर प्रस्तुत गरेका छन्। हङकङमा उनीहरू प्रजातन्त्रवादीका रुपमा चिनिन्छन्। सोमबार १ बजे एडमिराल्टीको तामार पार्क, सातिन टाउन हल प्लाजा, चुन मुन पार्क, चुनवान पार्क, वोङ ताईसिन स्क्वायर, मोङकक र ताई पोमा एकै साथ जुलुस निकाल्ने उनीहरूको तयारी रहेको बताइएको छ।
हङकङको सुपुर्दगी विधेयक विरुद्धको आन्दोलन तेस्रो महिनामा प्रवेश गरेको छ। आन्दोलनकारीले विधेयकको पूर्ण खारेजी, प्रहरी दमनको छानबिन, हङकङकी प्रमुख कार्यकारीको राजिनामा, पक्राउ परेकाहरुको बिनाशर्त रिहाई लगायतका माग राखेका छन्।
प्रदर्शनमा विद्यार्थी, शिक्षक, कर्मचारी, ईन्जिनियर, पाइलट, वकिल, सामाजिक कार्यकर्ता, ट्रेड युनियन लगायतले भाग लिने गरेका छन्
प्रतिक्रिया