हङकङमा सम्पन्न लोकप्रिय गोरखा ट्रैलब्लेजर दौड प्रतियोगितामा नेपाली धावकहरू विजयी भएका छन्।
१२ र २६ किलोमिटर विधामा शनिबार बिहान हङकङको न्युटेरिटोरिजस्थित लाउ सुइ हेउङ कन्ट्री ट्रैलमा आयोजित दौडमा नेपाली धावकहरूले प्रथम, दोस्रो तथा तेस्रो स्थान ल्याउन सफल भएका हुन्।
दौडको १२ किलोमिटरतर्फ निर्धारित दूरी १ घन्टा ७ मिनट १९ सेकेन्डमा पार गरी नेपाली धावक दिलप्रसाद लिम्बू प्रथम भएका हुन्। यस्तै सो दूरी १ घन्टा १२ मिनटमा पार गरी नेपाली धावक लबिन गुरुङ तेस्रा भएका हुन्। दोस्रो भने बेलायतका रिचर्ड कोले बने। उनले निर्धारित दूरी १ घन्टा ८ मिनट ४१ सेकेन्डमा पूरा गरे।
त्यसैगरी २६ किलोमिटरतर्फको दौडमा क्यानाडेली ब्रायन क्रेनले २ घन्टा ५५ मिनट १ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम, नेपाली धावक यामनाथ लिम्बुले २ घन्टा ५८ मिनट १ सेकेन्डमा पार गरी दोस्रो तथा हङकङका जेसन क्वोकले ३ घन्टा ९ मिनट ३२ सेकेन्डमा पार गरी तेस्रो स्थान हासिल गरेका छन्।
चौथो संस्करणको उक्त प्रतियोगितामा विभिन्न देशका डेढ सय धावक सहभागी भएका थिए। जसमा हङकङमा बसोबासरत ३६ जनाजति नेपाली सहभागी भए।
कोरोना त्रासका बीच पनि दौडमा उल्लेख्य सहभागिताले उत्साही बनाउको बताउँदै आयोजकका प्रवक्ता देवराज राईले अगामी वर्ष पाँचौ संस्करण भव्यताका साथ आयोजना गरिने जानकारी नेपालखबरलाई दिए।
प्रतिक्रिया