१०० किलोमिटर लामो विश्व प्रसिद्ध दौड यूटीएमबीमा रशिला र अनिताको राम्रो प्रदर्शन

१०० किलोमिटर लामो विश्व प्रसिद्ध दौड यूटीएमबीमा रशिला र अनिताको राम्रो प्रदर्शन

रशिला तामाङ र र अनिता राई


मगेन्द्र राई
भदौ १६, २०८० शनिबार १३:४४, हङकङ

अल्ट्रा ट्रैल म्याराथनको ‘विश्व कप’का रूपमा हेरिने १०० किलोमिटर लामो अल्ट्रा ट्रैल डु मोन्ट ब्लन्क (यूटीएमबी) वर्ल्ड सिरिज फाइनल प्रतियोगितामा रशिला तामाङलगायत नेपाली धाविकाहरूले राम्रो प्रदर्शन गरेका छन्। 

रशिलाले निर्धारित दूरी सय किमि १५ घन्टा ४५ मिनेट ७ सेकेन्डमा पूरा गर्दै कोउर्मयेउर च्याम्पेक्स सामोनी (सीसीसी) अन्तर्गत महिलातर्फ ४२ तथा उमेर समूहमा २०औँ स्थान हासिल गरेकी हुन्। उक्त दौड प्रतियोगिता शुक्रबार बिहान ९ बजे इटलीको काउर्मेउरबाट सुरु भई फ्रान्सको सामोनीमा पुगेर समाप्त भएको थियो। 

यस्तै अर्की नेपाली धाविका अनिता राईले उक्त निर्धारित दूरी १६ घन्टा ४५ मिनेट ३९ सेकेन्डमा पार गरी महिलातर्फ ५५ तथा उमेर समूहमा २२औँ स्थान ल्याएकी हुन्। अनिताले ३५–३९ उमेर समूहतर्फ भाग लिएकी हुन्। उनी मीरा राई इनिसिएटिब एक्सचेन्ज एन्ड इम्पावरको सहयोगमा फ्रान्स पुगेकी हुन्।  

नोर्बेकी यङ्भिल्ड कस्पर्सेन निर्धारित दूरी ११ घन्टा ५१ मिनट २२ सेकेन्डमा पूरा गर्दै महिलातर्फ प्रथम भइन् भने पुरुषतर्फ बेलायतका जोनाथन एल्बोनले उक्त दूरी १० घन्टा १४ मिनेट २५ सेकेन्डमा पार गरी प्रथम भए। उक्त विधामा कूल २ हजार ४ सय ६ प्रतियोगीले भाग लिएका थिए।

१४५ किलोमिटर लामो दौड ‘सुर लेस ट्रेसेस डेस डुक्स डे सवोइए’ (टीडीएस) तर्फ जीवन लामा र दिना बगाले सहभागी भए। जीवनले निर्धारित दूरी ३२ घन्टा २६ मिनेट २८ सेकेन्डमा पार गरे भने दिनाले  ७० किलोमिटर पार गरेपछि अस्वस्थताका कारण दौड पूरा गर्न सकेनन्। उक्त विधामा जम्मा ९९८ जना सहभागी भएका थिए।

५० किमिको ओर्सिएरेस च्याम्पेक्स सामोनी (ओसीसी) तर्फ प्रिया राईले ६ घन्टा ३० मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरी उमेर समूहमा २४औँ स्थान ल्याइन्। साउथ अफ्रिकन टोनी माक्यानले उक्त दूरी ५ घन्टा १८ मिनेट २१ सेकेन्डमा पार गरी प्रथम स्थान हासिल गरिन्। उक्त विधामा कूल १ हजार ६ सय ४३ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए। 

उक्त प्रतियोगितामा दिना बगाले, जीवन लामा, रशिला तामाङ, अनिता राई, प्रिया राई र वसन्त राई गरी जम्मा ६ नेपालीको सहभागिता थियो। दिना हङकङबाट तथा वसन्त बेलायतबाट त्यहाँ पुगेका थिए।  

उक्त प्रतियोगिताअन्तर्गत पीटीएल (२९० किमि), यूटीएमबी (१७० किमि), टीडीएस (१४५ किमि), सीसीसी (१०० किमि)  र ओसीसी (५० किमि), एमसीसी (५० किमि) , ईटीसी (२० किमि), वाईसीसी (२० किमि) लगायतका दौडमा गरी १० हजार धावकको सहभागिता रहने छ। अगस्ट २८ मा सुरु प्रतियोगिता यही सेप्टेम्बर ३ तारिखसम्म सञ्चालन हुनेछ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .