हङकङमा उदीयमान दुई नेपाली बक्सरको दोस्रो सानदार सफलता

‘बक्सिङको उपल्लो स्थानमा पुगेर नेपालको नाम राख्न चाहन्छु’
हङकङमा उदीयमान दुई नेपाली बक्सरको दोस्रो सानदार सफलता

विजयपश्चात् आशिष गुरुङ (बायाँ) र मिलन घले (दायाँ- जीउमा कपडा नभएको)।


मगेन्द्र राई
कात्तिक २, २०८० बिहिबार ८:५८, हङकङ

हङकङका उदीयमान दुई नेपाली बक्सरले व्यावसायिक भिडन्तमा अर्को सानदार जित हासिल गरेका छन्।

गत शनिबार हङकङमा भएको प्रतिस्पर्धामा २९ वर्षीय मिलन घलेले प्रतिद्वन्द्वी तोङ का चेउक यिईलाई पहिलो राउन्डमै नकआउट गरेका हुन्। 

भिडन्त गर्दै मिलन घले

घलेले गत अगस्टमा मकाउमा भएको पहिलो व्यावसायिक भिडन्तमा पनि प्रतिद्वन्द्वीलाई पहिलो राउन्डमै नकआउट गरेका थिए।

त्यसैगरी २४ वर्षीय आशिष गुरुङले हङकङकै प्रतिद्वन्द्वी होइ कित लीविरुद्ध दोस्रो राउन्डमा विनाशकारी नकआउट विजय प्राप्त गरेका छन्। उनले पनि गत अगस्टमा मकाउमा भएको पहिलो भिडन्तमा सर्वसम्मत अ‌ंकका आधारमा विजय यात्रा सुरु गरेका  थिए।

नकआउट पन्च प्रहार गर्दै आशिष गुरुङ

दुवै नेपाली बक्सरको यो दोस्रो  व्यावसायिक भिडन्त हो। मिलन बुटवलका स्थायी बासिन्दा हुन् भने आशिष पोखरा निवासी हुन्।

१४७ पाउन्ड वेल्टर वेट डिभिजनमा भिडन्त गरेका मिलन आफ्ना प्रतिद्वन्द्वीविरुद्ध सुरुमै आक्रामक बनेका थिए। तर प्रतिद्वन्द्वीबाट पनि त्यतिकै काउन्टर भइरहेको थियो। उनले लेफ्ट बडि सट र लेफ्ट हुकको संयोजन गरी नक डाउन गरे। रेफ्रीको ९ काउन्टमा प्रतिद्वन्द्वी भिडन्तका लागि तयार भए पनि घलेको आक्रामक कम्बिनेसनको प्रहार थेक्न सकेन, अनि रेफ्रीले हस्तक्षेप गरी भिडन्त रोके। फलत: उनले पहिलो राउन्डमै नकआउट गरेर दर्शकको वाहवाही पाए।

भिडन्त गर्दै मिलन घले

‘यो पटक पनि पहिलो राउन्डमै नकआउट जित कसरी सम्भव भयो?’

नेपालखबरको प्रश्नमा उनले भने, ‘मकाउमा भएको भिडन्तले मलाई थप आत्मविश्वास बढेको थियो। त्यसका साथै  यो भिडन्तका निम्ति मैले कठिन प्रशिक्षण गरेको थिएँ। तर त्यति चाँडै नक आउट गरिएला भन्ने चाहिँ सोचेको थिइनँ, म पूरै ४ राउन्डका लागि  मानसिक रुपमा तयार थिएँ। तर राम्ररी वार्मअप नहुँदै नकआउट गरियो, यसले मलाई थप महत्वाकांक्षी बनाएको छ।

भविष्यको योजना के छ?

दोस्रो  प्रश्नको जवाफमा उनले भने, ‘सोचेभन्दा राम्रो नतिजा निस्किएपछि थप मात लाग्दो रहेछ, अहिले मेरो रौँरौँमा, रक्तसञ्चारमा बक्सिङको मात दौडिरहेको छ, थप महत्वाकांक्षी बनाएको छ, अब म वर्षमा आधा दर्जनजति भिडन्त गर्छु, अनि बक्सिङको उपल्लो क्षेत्रसम्म पुगेर नेपालको नाम राख्न चाहन्छु।’

आफूलाई जापानबाट समेत भिडन्तका लागि अफर आएको उनले सुनाए। तर उनी हङकङमै थप भिडन्त गरी अनुभव बटुलेर मात्र त्यता जाने योजना बताए।  घले फेरि आगामी डिसेम्बरमा अर्को भिडन्त गर्ने बताए।

त्यसैगरी २४ वर्षीय आशिषले सुपर फ्लाइवेटमा भिडन्त गरेका हुन्। उनी अमेच्योर भिडन्तमा दुईपटक हङकङ च्याम्पियनसमेत बने। पहिलो व्यावसायिक भिडन्तमा पूरै ४ राउन्ड खेलेका उनले यो पटक सम्झन लायकको नकआउट जित हासिल गरे। 

उक्त भिडन्तमा आशिषलाई हाईट र रिच दुवैमा एडभान्टेज थियो। यसैको फाइदा उनले उठाए। उनले दोस्रो राउन्डमा लेफ्ट-राइट हुकको कम्बिनेसन गरी प्रतिद्वन्द्वीलाई उठ्नै नसक्ने बनाए। 

प्रतियोगिता डीईएफ बक्सिङ जिम हङकङले आयोजना गरेको थियो।

 सिकाउँदै, खेल्दै, कमाउँदै
मिलन र आशिष दुवै बक्सिङ प्रशिक्षकसमेत हुन्। हाल दुवै जना डीईएफ बक्सिङ जिम मा सिनियर प्रशिक्षकका रूपमा कार्यरत छन्। यसो हुँदा उनीहरूलाई भिडन्त गर्नसमेत सजिलो भएको छ।

यी दुवैले यही जिमबाट बक्सिङ सिकेका हुन्। सिक्दै जाने क्रममा उनीहरू कुशल बक्सर र प्रशिक्षकसमेत बन्न सफल भएका हुन्।

दैनिक सिकाउनु अनि आफैँले पनि ट्रेनिङ गर्ने अवसर पाउँदा शरीर सधैँ कन्डिसनमा हुने उनीहरू बताउँछन्। भन्छन्, ‘हामी जतिबेला पनि भिडन्तमा उत्रिन सक्छौँ।’

मिलनले सरदर दैनिक ५ घन्टा बक्सिङ सिकाउँछन्। त्यसबापत उनी मासिक नेपाली ५/६ लाख रुपैयाँ तलब बुझ्छन्।

मिलन नेपालखबरसँग भन्छन्, ‘बुद्धि र सीपमा जेठो/कान्छो नहुँदो रहेछ, म आफ्नै भाइबाट प्रेरित भएर बक्सिङमा लागेको हुँ, यो खेलबाट मैले धेरै कुरा सिकेको छु। यसले मलाई सबैभन्दा बढी  अनुशासित हुन सिकाएको छ। यो खेल निकै जोखिमपूर्ण छ। तर जहाँ जोखिम छ, त्यहीँ आनन्द पनि छ।’

अहिले उनीहरूले सिकाउने जिममा १० भन्दा बढी नयाँ नेपाली युवा बक्सिङ सिक्न धाइरहेका छन्। यो  संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। 

मिलन थप्छन्, ‘उनीहरूले हाम्रो पदचाप अनुशरण गरिरहेको देख्दा खुसी मात्र लाग्दैन, नेपालीहरूले भविष्यमा यो क्षेत्रमा उल्लेखनीय नतिजा निकाल्न सक्छन।’

मिलन र आशिष दुवै वर्ल्डक्लास फाइटर बन्न चाहन्छन्। दुवैलाई शुभकामना!!

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .