'हिमालयन हार्मोनी' दौड आयोजना गर्दै 'हङकङ नेप्लिज अल्ट्रा ट्रेल एसोसिएसन'

पहिलो संस्करणमै हङकङ डलर ३ हजार पुरस्कार दिने घोषणा
'हिमालयन हार्मोनी' दौड आयोजना गर्दै 'हङकङ नेप्लिज अल्ट्रा ट्रेल एसोसिएसन'

मगेन्द्र राई
माघ ९, २०८२ शुक्रबार ११:४६, हङकङ

हङकङका नेपाली अल्ट्रा ट्रेल रनरहरूले स्थापना गरेको ‘हङकङ नेप्लिज अल्ट्रा ट्रेल एसोसिएसन’ले आगामी मार्चमा ‘हिमालयन हार्मोनी’ अल्ट्रा ट्रेल रनिङ-२०२६ प्रतियोगिता आयोजना गर्ने भएको छ।

यसका लागि यही जनवरी १८ देखि आफ्नो वेबसाइटमा अनलाइन दर्तासमेत खुला गरिसकेको आयोजक संस्थाका अध्यक्ष वेदराज लिम्बूले नेपालखबरलाई जानकारी दिए।

त्यही दिन जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्ट एन्ड बारमा कार्यक्रम गरी प्रतियोगिताबारे विस्तृत जानकारी दिइएको थियो। 

प्रतियोगिताका क्रममा नेपाली भेषभूषा तथा नाचगान प्रदर्शन गरी नेपाली कला र संस्कृतिको प्रवर्द्धनसमेत गरिने उनले बताए। 

प्रतियोगिताको तयारी युद्ध स्तरमा भइरहेको जानकारी पनि अध्यक्ष लिम्बूले दिए।

उनका अनुसार प्रतियोगिताका लागि स्वयंसेवक, फर्स्ट एडर, चेक प्वाइन्टमा खाद्य तथा पेय पदार्थसहित प्राविधिक व्यवस्थापनका काम भइरहेका छन्। 

प्रतियोगितामा झन्डै ५०० जना प्रतियोगी सहभागी हुने उनको भनाइ छ। 

यसैबिच अध्यक्ष लिम्बूलाई नेपालखबरले ‘पहिलोपटक यति ठुलो इभेन्ट आयोजना गर्न कत्तिको चुनौती छ’ भनी सोधेको थियो। 

जवाफमा उनले भने, ‘चुनौती त हरेक कुरामा हुन्छ, तर त्यसलाई अवसरका रूपमा आत्मसात् गर्‍यौँ भने असफल हुने कुरै छैन। हामी संस्थामा सबै ट्रेल रनका अनुभवी छौँ। समुदायबाट सहयोग र हौसला प्राप्त भइरहेको छ, हाम्रो पब्लिक रिलेसन पनि राम्रो छ, विदेशीहरूसँग पनि राम्रो मित्रता छ, यसलाई सदुपयोग गर्दै नेपालीहरू पनि सक्षम छन् भनेर प्रमाणित गरेर देखाउने अवसर हो यो, त्यसैले हामी यो पहिलो संस्करणका लागि उत्साहित छौँ।’

दौड कहिले, कहाँ?

‘हिमालयन हार्मोनी’ अल्ट्रा दौड हङकङको सबैभन्दा अग्लो स्थान ताई मो सान डाँडाको रोटरी पार्कमा आगामी मार्च २२ तारिख आइतबार बिहान सुरु हुनेछ। ५० र १२ किलोमिटर विधामा प्रतिस्पर्धा गराइने यी दौड क्रमशः ८ र ९ बजे सुरु हुनेछन्।

सहभागी सबै त्यस दिन बिहान ७:३० बजेअगावै आयोजना स्थलमा उपस्थित भइसक्नु पर्नेछ।

ताई मो सान डाँडाबाट सुरु हुने दौड सुन्दर सिङ मुन, सा तिन पास, सिङ मुन, लिड माइन पास हुँदै स्जे फोङ सान हुँदै फेरि ताई मो सानमै आएर अन्त्य हुनेछ। 

प्रतियोगीले सबैभन्दा प्रसिद्ध म्याकलहोज र विल्सन ट्रेलका उकालो-ओरालो पार गर्नुपर्नेछ। प्रतियोगितामा कुल ५ चेक प्वाइन्ट हुनेछन्।

५० किमितर्फ उमेर समूह  १८-३९, ४०-४९ र ५० ओभर हुनेछ भने १२ किमितर्फ १२-१३, १४-१५, १६-१७, १८-३९, ४०-४९ र ५ ओभरका हुनेछन्।

५० किमि र १२ किमितर्फ दर्ता शुल्क हङकङ डलर ७९० र ३९० तोकिएको छ।

तर फेब्रुअरी ५ भन्दा अगाडि दर्ता गर्नेहरूलाई ‘एर्ली बर्ड’ क्रमशः ७२० र ३५० हङकङ डलर तोकिएको छ। ५० किमि र २२ किमिको कटअफ टाइम क्रमशः १४ घन्टा र ४ घन्टा तोकिएको छ।

दौडमा सहभागी हुन चाहनेहरूले हाल खुला भइसकेको आवेदन मार्च १९ तारिखसम्म अनलाइनमार्फत दिन सक्नेछन्। 

पहिलो संस्करणमै नगद पुरस्कार

हङकङमा वार्षिक रूपमा सयौँ ट्रेल दौड प्रतियोगिता हुन्छन्। तर मेडल र ट्रफीबाहेक नगद पुरस्कार विरलै मात्र दिइन्छ। तर हिमालयन हार्मोनी प्रतियोगितामा पहिलो संस्करणमै नगद पुरस्कार घोषणा गरिएको छ।

आयोजकका अनुसार ५० किमितर्फ शीर्ष ३ स्थान हासिल गर्ने महिला र पुरुष दुवैलाई जनही हङकङ डलर क्रमशः ३ हजार, २ हजार र १ हजार डलर प्रदान गरिनेछ। त्यसैगरी दुवै विधाका उमेर समूहका शीर्ष ३ लाई ट्रफी तथा कटअफ टाइमभित्र छिर्नेलाई मेडल प्रदान गरिनेछ।

‘हङकङमा हरेक वर्ष सयौँ ट्रेल रेस हुन्छन्, जसमा नर्थ फेस, हङकङ १०० र एक्सन एसिया इभेन्टजस्ता ठुला आयोजकले मात्र नगद पुरस्कार दिने गरेका छन्, एक्सन एसिया इभेन्टजस्तो नामुद आयोजकले पनि ५० किमि विजेतालाई मात्र १ हजार हङकङ डलर दिने गरेको छ, तर तपाईंहरूले त ३ हजार दिँदै हुनुहुन्छ, अरू आयोजकले जस्तै ट्रफी र मेडल मात्र दिँदा हुँदैन्थ्यो?’

नेपालखबरको प्रश्नमा अध्यक्ष लिम्बूले भने, ‘हामी संस्थामा रहेका कार्यसमितिका सबै जना ट्रेन रनरहरू छौँ। यौटा ट्रेल रनिङ प्रतियोगितामा भाग लिँदा कति मेहनत गर्नुपर्छ, कतिवटा जुत्ताहरू फटाइन्छ, त्यो त हामीलाई मात्र थाहा छ। त्यसरी पसिना, आँसु र रगत बगाएर गरिएको मेहनतका लागि हौसला प्रदान गर्ने हामीले नगद पुरस्कार राखेका हौँ, बल्की हामीसँग डलर प्रशस्त भएर हैन।’

इतिहास जोड्ने दौड स्थल

ताई मो सान डाँडापूर्वगोर्खा सैनिकले जंगल अभ्यास गर्ने स्थान हो। सन् १९८१ मा क्किन्स गोर्खा सिग्नल्स सैनिकहरूले नै सुरु गरेको प्रसिद्ध अक्सफाम ट्रेल दौड म्याकलहोज र विल्सन हुँदै गरिन्थ्यो।

हिमालयन हार्मोनी आयोजकले पनि त्यो इतिहास जोड्न त्यही स्थान छनोट गरेको छ। 

अध्यक्ष लिम्बू भन्छन्, ‘हामी पुरानो पुस्ताको इतिहास स्मरण गर्दै दोस्रो पुस्तामार्फत त्यो विरासत डोर्‍याउन चाहन्छौँ।’

केही रकम परोपकारी संस्थालाई  

आयोजकले प्रतिदर्ता शुल्कबाट हङकङ डलर ५० ‘एक्सचेन्ज एन्ड इम्पावर’ नामक च्यारिटेबल संस्थालाई सिधै दिइनेछ।

उक्त संस्थाले नेपालका ग्रामीण महिला र बालबालिका तथा हङकङका विदेशी घरेलु कामदारलाई कार्यशाला, सामाजिक पदयात्रा र संरचित प्रशिक्षण दिने गरेको छ। 

त्यसले उनीहरूको आत्मविश्वास र आदर्श व्यक्तित्व निर्माणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .