नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताहरू दाङको बबई गाउँपालिकाको पुरन्धाराबाट अमिलया हुँदै नेपाल-भारत नाका क्षेत्रमा दुई दिनअघि नै प्रवेश गरेका थिए।
उनीहरू बुधबार राजपुर गाउँपालिका ४ मुग्रेठा खोलास्थित जंगलको बीचमा मानिस नबस्ने गरेको ज्ञानेन्द्र वलीको घरमा पुगे।
त्यही घरमा बास बसे। राति बैठक गरे। मध्यरातसम्म बैठक गरेका चन्द समूहका नेता त्यसपछि ढुक्कले सुते। उनीहरूले आफ्नो सुरक्षार्थ केहीलाई सेन्ट्रीमा खटाएका थिए।
चन्द समूहको यो योजना र गतिविधिबारे प्रहरीले पहिल्यै सूचना पाइसकेको थियो। सूचना पाएलगत्तै प्रहरी सादा पोसाकमा परिचालित भए।
उनीहरू करिब ६ किलोमिटर पर पर्ने राजपुरको मतियानी खोलासम्म गाडीमा गए। त्यसपछि सडक नभएकाले ३ घण्टा हिँडेरै बैठकस्थल पुगे। यो खबर आजको कान्तिपुरमा दुर्गालाल केसीले लेखेका छन्।
रातको १ बजेको थियो। प्रहरीले घेरा हाल्यो। त्यसक्रममा सेन्ट्रीमा चन्द समूहका ७/८ जना हतियारसहित भागे।
नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुरसहित २१ नेता पक्राउ परे। चन्द्रबहादुर केन्द्री सदस्य तथा लुम्बिनी ब्युरो र मध्यपश्चिम कमान्ड हुन्।

प्रतिक्रिया