काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेका छन्।
त्यसका लागि उनले सचिवालयका सबैलाई राजीनामा गर्न भनेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
‘आफ्नो कामको सहजताका लागि सचिवालयमा रहेकाहरुले छाडेर सहयोग गरिदिन’ प्रधानमन्त्री ओलीले प्रमुख सल्लाहकार विष्णु रिमाललाई भनेका थिए।
रिमालले सचिवालयका सबै सदस्यले शुक्रबार बैठक गरी प्रधानमन्त्रीले बाटो सहज बनाइनि आग्रह गरेको जानकारी गराएका थिए।
प्रधानमन्त्रीको यस्तो सन्देश पाएपछि सचिवालयका सबैले मंसिर १ गतेदेखि लागू हुने गरी छाड्ने निष्कर्ष निकालेको स्रोतले बतायो।
यसबारे जिज्ञासा राख्दा प्रमुख सल्लाहकार रिमालले आफूलाई यो विषयमा जानकारी नभएको बताए।
परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि त्यस्तै जवाफ दिए।
प्रधानमन्त्रीले नयाँ टिममा पनि अहिलेकै केहीलाई समावेश गर्ने सम्भावना छ।
प्रधानमन्त्रीको सचिवालयको प्रमुख सल्लाहकारमा रिमाल, परराष्ट्र सल्लाहकारमा भट्टराई, प्रेस सल्लाहकारमा अर्याल, जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्यलगायत छन्।
नयाँ बन्ने टिममा अहिलेकामध्ये बज्राचार्य दोहोरिने सम्भावना छ।
प्रमुख सल्लाहकार रिमालले पहिलो प्रधानमन्त्रीकालदेखि नै ओलीसँग निकट भएर काम गरेका थिए।
तर, उनको कार्यशैलीका कारण पार्टीभित्रकै नेतादेखि बाहिरसम्मै प्रधानमन्त्रीको आलोचना हुने गरेको छ।
केही मन्त्रीकै कार्यसम्पादनप्रति पनि प्रधानमन्त्री असन्तुष्ट छन्।
प्रधानमन्त्री निकट एक नेताका अनुसार सचिवालय सदस्यहरुको हेरफेरपछि ओलीले त्यस्ता मन्त्रीलाई हटाउने छन्।
पछिल्लो एक सातायता प्रधानमन्त्रीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको सघन छलफलमा सरकारलाई नयाँ गति दिन सचिवालयदेखि मन्त्रिपरिषद्सम्मै हेरफेरको चाहना राखेको स्रोतले जनायो।
Shares

प्रतिक्रिया