विश्वकप २०२६ अन्तर्गत आइतबार मध्यराति नेदरल्यान्ड्सले एसियन पावरहाउस जापानसँग खेल्दै छ। समूह ‘एफ’को यो खेल नेपाली समयअनुसार मध्यराति १:४५ बजे हुनेछ।
युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनलिस्ट नेदरल्यान्ड्सले फिफा विश्वकपको गत संस्करणमा अन्तिम आठसम्मको यात्रा गरेको थियो। तीनपटकको उपविजेता नेदरल्यान्ड्स आफ्नो १२औं विश्वकप अनुभव लिइरहेको छ।
यसपालि टोलीको पहिलो लक्ष्य भनेको नकआउट चरणमा स्थान बनाउनु हो। त्यसपछि कम्तिमा सेमिफाइनलमा पुग्नु हुनेछ। टोलीले १९९४ यता भएका समूह चरणका १६ खेलमा पराजय व्यहोरेको छैन।
सन् १९९४ अमेरिका विश्वकपमा टोलीको क्याप्टेन आर्मब्यान्ड रोनाल्ड कोम्यानले लगाएका थिए। ३२ वर्षपछि उनले डच टोलीको टचलाइन सम्हाल्दै छन्।
जापानको यो आठौँ विश्वकप सहभागिता हो। समूह चरणमा राम्रो प्रभाव छाडे पनि जापान अहिलेसम्म अन्तिम १६ भन्दा माथि जान सकेको छैन। सन् २००२ मा जापानले दक्षिण कोरियासँग मिलेर विश्वकप आयोजना गरेको थियो।
त्यतिबेला पनि टोली अन्तिम १६ मै रोकिएको थियो। जतिबेला कोरिया सेमिफाइनलसम्म पुगेको थियो। फिफा वरीयतामा जापान १८औँ स्थानमा छ। विपक्षी नेदरल्यान्ड्सभन्दा १० स्थान पछाडि। तर, डच टोलीलाई चुनौती दिन जापान तयार छ।
जापानको लय पनि गज्जबको छ। टोलीले खेलेका पछिल्ला ६ मैत्रीपूर्ण खेलमा शतप्रतिशत जितको नतिजा निकालेको छ। जसमा ब्राजिलविरुद्धको जित पनि समावेश छ। अक्टोबरमा २–० ले पछाडि परिसकेको अवस्थामा जापानले ब्राजिलमाथि ३–२ को पुनरागमन जित हासिल गरेको थियो। त्यो पनि ‘अवे’ मैदानमा।
जापानले एएफसी छनोट प्रतियोगितामा सर्वाधिक ५४ गोल गरेको थियो। तीन देशले संयुक्त रुपमा आयोजना गरिरहेको विश्वकपको टिकट काट्ने जापान पहिलो टोली थियो। छनोट यात्रामा जापानले तीन गोल मात्र खाएको थियो। जसका कारण यसपालि जापानको यात्रा अहिलेसम्मकै उच्च हुने अनुमान गरिएको छ ।
गत संस्करण जापानले समूह चरणमा दुई एलिट टोलीको चुनौतीलाई पाखा लगायो। महारथीहरु स्पेन र जर्मनी जापानसँग स्तब्ध भएका थिए। तर, अन्तिम १६ मा टोली दुर्भाग्यजनक तरिकाले क्रोएसियासँग पेनाल्टी सुटआउटमा हार्न पुग्यो।
विश्वकपमा जापान र नेदरल्यान्ड्सले अहिलेसम्म एकैपटक मात्र एकअर्कासँग प्रतिस्पर्धा गरेका छन्। सन् २०१० मा पनि यी दुई एउटै समूहमा थिए। त्यतिबेला खेलको नतिजा १–० ले नेदरल्यान्ड्सको पक्षमा गएको थियो। अन्त्यमा दुवैले अन्तिम १६ मा स्थान बनाए।
अन्तिम वार्मअप खेलमा पहिलो रोजाइका गोलकिपर बार्ट भरब्रुगेनलाई हिपमा केही समस्या आइपरेको थियो। त्यसैले जापानविरुद्ध कोम्यानले गोलकिपरमा कसलाई खेलाउनेछन्, त्यो अहिले नै भन्न सकिने अवस्था छैन। बार्टको स्थिति गम्भीर हो भने उनको ठाउँमा सम्भवतः बायर लेभरकुसनका मार्क फ्लेक्केनले खेल्नेछन्।
विश्वकप २०२६ अभियानमा नेदरल्यान्ड्सलाई इन्जुरीले धेरै नै सतायो। आर्सनलका रक्षक युरियन टिम्बर ग्रोइन इन्जुरीका कारण विश्वकप गुमाउन बाध्य भए। त्यस्तै इन्जुरीकै कारण सेन्टरब्याक म्याथिस डी लाइट र विंगर जाबी सिमन्स पनि टोलीमा छैनन्।
जापानको हकमा कप्तान वाटारु एन्डोले विश्वकप खेल्नेछैनन्। खुट्टाको चोट निको नहुँदा लिभरपुलका मिडफिल्डरले विश्वकपको मुखैमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरे। एन्डोसँगै ब्राइटनका विंगर काओरु मितोमा पनि विश्वकप टोलीमा छुटेका छन्।
समूह ‘एफ’अन्तर्गत नै जापान र नेदरल्यान्ड्सको खेलपछि सोमबार बिहान ७ः४५ बजे स्विडेन र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ।
Shares

प्रतिक्रिया