नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्ना सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने १९ किलोमिटर वरसम्म शून्य छ।
व्यास गाउँपालिका–१ छाङरु गाउँबाट दक्षिणपूर्व तिंकर खोलानजिकको सीतापुल प्रहरीचौकी नै नेपालको पश्चिमी सीमातर्फको अन्तिम सुरक्षा उपस्थिति हो ।
जीर्ण अवस्थाको यो चौकीमा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा १३ जनाको टोली छ । सीमा क्षेत्रको एकमात्र चौकी भएकाले स्थानीय नागरिकलाई सुरक्षा दिने दायित्व पनि यही टोलीमाथि रहेको खबर आजको कान्तिपुर दैनिकमा दार्चुलाबाट मोहन बडूले लेखेका छन् ।
नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले हालै जारी गरेको नयाँ नक्साअनुसार नेपाल–भारत सीमा वारिपारि कौवा र गुञ्जी क्षेत्र पर्छ ।
नेपालतर्फको ठाउँ कौवा हो भने भारततर्फको गुञ्जी । कौवाबाट कालापानी ९ किलोमिटर उत्तरमा पर्छ । यी दुई विन्दुबीच मात्रै भारतका आधा दर्जन सुरक्षा अंग छन् ।
नेपालतर्फ भने कौवाबाट १० किलोमिटर वर गागामा त्यही एउटा सीतापुल चौकी छ । चीनसितको रणनीतिक क्षेत्रसमेत भएकाले भारतले भने उक्त ठाउँहरूमा सुरक्षा निकायहरूको उपस्थिति बढाउँदै लगेको छ ।
भारतीय सेना, सीमा सुरक्षा बल, भारतीय बोर्डर पुलिसलगायत सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन् ।
भारतले अहिले कालापानी हुँदै लिपुलेकसम्म मोटरबाटो बनाइरहेको छ। कालापानीबाट लिपुलेक करिब १० किलोमिटर र त्यहाँबाट चीनको सीमा लिपुपास ३ किलोमिटरमा पर्छ ।
गुञ्जीबाट चीनको सीमा पुग्न सबैभन्दा नजिक र सजिलो भएकाले भारतले यो क्षेत्रलाई २०१८ सालदेखि हडप्दै आएको स्थानीय बताउँछन् ।
कालापानी क्षेत्रमा आफ्ना सैनिक राखेदेखि नै भारतीय पक्षले नेपालीलाई आवतजावतमा समेत अवरोध गर्दै आएको छ । यो नाकाबाट भारत–चीन व्यापार सुरु भएदेखि नेपालीलाई असहज भएको हो ।
पञ्चायतकालमा सदरमुकाम खलंगाबाट तिंकर नाकासम्म झन्डै सवा सय किलोमिटर घोरेटो बाटो बनेको थियो । यो बाटो बनेपछि व्यास क्षेत्र जान सहज भएकाले नेपाली र भारतीय नागरिक नेपालकै घोरेटो बाटोबाट व्यास क्षेत्रमा बर्सेनि कुञ्चा (बसाइँसराइ) गर्थे ।
सीतापुलको करिब ४–५ किलोमिटर पर कौवाको किनारमा नेपाल–भारत जोड्ने काठेपुल रहेको र त्यहींबाट उक्त क्षेत्रका भारतीयले कुञ्चा सार्ने गरेको तिंकरका वृद्ध शोभानसिंह तिंकरी बताउँछन् ।
पछि उक्त काठेपुल कटानमा पर्यो । त्यसपछि अहिलेको सीतापुलको करिब सय मिटरयता तिंकर खोला महाकालीमा मिसिने ठाउँमा पुल बनाइएको थियो । त्यही पुल पनि नदीले कटान गरेको धेरैपछि सीतापुल बनाइएको हो।
बहुदल आएयताको केही समयसम्म पनि नेपाल–भारत सीमा क्षेत्रमा निर्वाध आवतजावतमा रोकतोक थिएन । माओवादी द्वन्द्व चर्किएपछि भारतीय पक्षबाट आवागमनमा अवरोध गरिएको व्यासका बूढापाका बताउँछन् ।
सशस्त्र द्वन्द्वकालमा नेपाली सुरक्षाकर्मी व्यास क्षेत्रमा जान सकेनन् । द्वन्द्व सकिएपछि घोरेटो बाटो बिग्रिएको भन्दै राज्यले उक्त क्षेत्रमा आफ्नो उपस्थिति देखाउनमा चासो नदिएको स्थानीयको बुझाइ छ ।
व्यास क्षेत्रमा नेपाल प्रहरीका २ युनिट छन् । ती पनि अस्थायी । त्यहाँ ६ महिना मात्र प्रहरी बस्छन् । चिसोका बेला बेसी झर्छन्।
नेपाली सेना केहिलेकाहीं गस्तीमा जाने गरे पनि छाङरु हँुदै तिंकर गाउँसम्म पुगेर फर्कने गरेको छ । बाटो नभएकाले विगत दुई–तीन वर्षयता वर्षको एकपल्ट हुँदै आएको गस्ती पनि रोकिएको छ ।
व्यास क्षेत्रमा जाने बाटो नभएकैले गत वर्ष सेनाको गस्ती सुन्सेराबाट फर्किएको थियो । स्थानीयका अनुसार प्रहरीको उपस्थिति पनि चौकी–गाउँ आउजाउमै सीमित छ।
स्थानीयले केही सूचना दिए त्यसलाई माथिल्लो निकायमा खबर गर्छन् । केन्द्रसम्म स्थलगत र अध्यावधिक रिपोर्ट विरलै मात्र पुग्ने गरेको छ।

प्रतिक्रिया