ad ad

छापा खबर


पदाधिकारी चयनमा प्रचण्डको आलटाल

पदाधिकारी चयनमा प्रचण्डको आलटाल

नेपालखबर
फागुन २२, २०७८ आइतबार ८:१२, काठमाडौँ

माओवादी केन्द्र आठौं राष्ट्रिय महाधिवेशनबाट गत पुसमा बहुपदीय नेतृत्व प्रणालीमा गयो। महाधिवेशनबाट घोषित केन्द्रीय समितिले पुष्पकमल दाहाललाई नै अध्यक्ष चयन ग¥यो।  तर, दाहालले दुई महिनासम्म पनि १४ पदाधिकारी नियुक्त गर्न आलटाल गरिरहेका छन्।  

जसमा वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ जना छन्।  पोलिटब्युरो (केन्द्रीय समितिको एकतिहाइ) र स्थायी समिति (पोलिटब्युरोको एकतिहाइ) पनि गठन भएका छैनन्।  

केन्द्रीय समिति विधानतः २ सय ९९ हुनुपर्छ।  काठमाडौंमा पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले २ सय ३७ केन्द्रीय घोषणा गरेको थियो।  ६२ सदस्य मनोनयन गर्न बाँकी छ। 

दाहाल झन्डै ३३ वर्षदेखि निरन्तर नेतृत्वमा छन्।  दाहाल २०४६ सालमा नेकपा (मशाल)को महामन्त्री भएपछि पार्टी नेतृत्वमा आएका हुन्।  तर, बहुपदीय प्रणालीमा जाने भनिए पनि अझै एकल नेतृत्वकै धङधङी देखिएको माओवादीकै नेता बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा राजकरण महतोले लेखेका छन्। 

महाधिवेशनले जनवादी केन्द्रीयता र सामूहिक नेतृत्वको अभ्यास गर्ने निर्णय गरे पनि अध्यक्षले त्यसको उल्लंघन गरेको बताउँछन् केन्द्रीय सदस्य प्रकाश पोखरेल।  ‘पार्टीमा व्यक्तिवादी चरित्र हावी भयो’, केन्द्रीय सदस्य पोखरेल भन्छन्, ‘यसलाई हामी निरंकुश प्रवृत्ति पनि भन्छौं।  उहाँलाई पार्टी कमिटीको संरचनाप्रति विश्वास नै लाग्दैन। ’

अर्का केन्द्रीय सदस्य गणेश साह नेतृत्वले ‘बोल्ड डिसिजन’ लिन नसक्दा पदाधिकारी छनोट हुन नसकेको बताउँछन्।  ‘नेताहरू जिम्मेवारीविहीन छन्’, केन्द्रीय सदस्य साह भन्छन्, ‘तर, जिम्मेवारी दिन नेतृत्वले अग्रसरता लिन चाहिरहेको छैन।  एमसीसीजस्तो राष्ट्रिय चासोको विषयमा त अध्यक्षजीले एकल निर्णय लिनुभयो।  संस्थागत निर्णय गरेको भए सबैको स्वामित्व पाउनुहुन्थ्यो। ’

पार्टीको सबै तहमा नेतृत्वदेखि पदाधिकारी छनोटमा ढिलाइ भएको बताउँछिन् नेतृ ओनसरी घर्ती मगर।  ‘हाम्रो कारणभन्दा पनि कोभिडले गर्दा पार्टी कमिटीलाई पूर्णता दिन ढिलो भयो’, नेतृ मगर भन्छिन्, ‘अर्कोतिर एमसीसीले गर्दा पनि हाम्रा कमिटीहरू निर्माण भएनन्।  हामीले सबै कामलाई एक ढंगले म्यानेज गरिसकेपछि पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ।  अब हामी फाइनल डिसिजनमा पुग्छौं।’ 

माओवादी प्रमुख सचेतक देव गुरुङ अध्यक्ष सामूहिकताकै अभ्यासमा रहेको बताउँछन्। 

एमसीसीमा ‘एकल निर्णय’
एमसीसीले माओवादीमा ‘परकम्प’ ल्यायो।  दाहालले केन्द्रीय समितिको सट्टा पूर्वस्थायी समिति सदस्यको बैठक बोलाए।  उक्त कदमप्रति असन्तुष्ट नेताहरूले त्यसलाई अवैधानिक भन्दै केन्द्रीय समिति बोलाउन माग गरे।  तर, उनले वास्ता गरेनन्।  बरु फागुन १५ गते पूर्वस्थायी समितिकै बैठकबाट एमसीसी अनुमोदन गर्ने निर्णय गराए।  

नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, देव गुरुङलगायतले त्यसलाई ‘दाहालको एकल निर्णय’ भन्दै चर्को आलोचना गरिरहेका छन्।  केन्द्रीय समितिको शुक्रबार सुरु बैठकमा चार जना नेताले लिखित असहमति जाहेर गरेका छन्। 

पार्टीमा प्रतिस्पर्धी नेता नरहेकाले दाहालले पेलेरै एमसीसीबारे निर्णय गराएको असन्तुष्ट नेताहरू बताउँछन्।  जबकी लेखनाथ न्यौपानेलगायत युवा नेताले एमसीसीबारे निर्णय गर्न केन्द्रीय बैठक बोलाउन पटक–पटक माग गरेका थिए।   

एमसीसीका विषयमा निर्णय लिन दाहालले केन्द्रीय बैठक बोलाउन आवश्यक ठानेनन्।  पार्टीको सबै शक्ति आफूमा केन्द्रित गरी एकल रूपमा पार्टी हाँक्ने गरेको आरोप दाहाललाई पहिलेदेखि लाग्दै आएको थियो।  यसपटक त पदाधिकारी नभएका बेला ‘कोठे निर्णय गरेको’ असन्तुष्ट पक्षको आरोप छ।  

नेता श्रेष्ठले शुक्रबार पार्टी बैठकै नगरी एकल ढंगले एमसीसी अनुमोदन गरिएको भन्दै कडा विरोध गरे।  श्रेष्ठले दाहाललाई आत्मसमर्पणवादीको संज्ञा दिए।  

नेताहरूमा ‘एसम्यान’ प्रवृत्ति डा। बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्दले पार्टी छोडेपछि दाहाललाई ‘टक्कर दिने’ नेता पार्टीमा नभएजस्तै छ।  अरू नेता दाहालकै सहारामा आफूलाई स्थापित गर्न चाहन्छन्।  जसकारण उनीहरू न दाहालको एकल नेतृत्वविरुद्ध जान सक्छन् न त टक्कर लिन नै।  

श्रेष्ठ पक्षधर नेताले बेलाबखत फरक मत राख्ने गरेका छन्।  तर, संख्यात्मक रूपमा कमजोर र माओवादी संरचनाले पूर्णरूपमा स्वीकार नगर्ने स्थिति छ।  त्यसैले पनि अध्यक्षले जे गर्दा पनि उनका निर्णयविरुद्ध ‘विद्रोह गर्ने वा उल्ट्याउने हैसियत’ अरू नेतामा देखिँदैन।  

केन्द्रीय सदस्य पोखरेल यो अवस्था पार्टीको आन्तरिक जीवनका लागि सुखद नरहेको बताउँछन्।  ‘नेतृत्वमा पार्टी रूपान्तरण गर्ने इच्छाशक्ति भयो भने मात्रै माओवादीको अस्तित्व र क्रान्तिकारी विरासत कायम रहन्छ’, पोखरेल भन्छन्, ‘नत्र पार्टीको विघटन कसैले रोक्न सक्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .