आज (बिहीबार) उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ।
होलीका अवसरमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ।
यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्णले भने, ‘होली खेल्नुअघि सम्पूर्ण शरीरमा राम्ररी लोसन वा मोइस्चराइजर लगाउनुपर्छ । यो काम होली खेल्नुभन्दा कम्तीमा एक घण्टा अगाडि गर्नुपर्छ।’
त्यसपछि होली खेल्नु १० मिनेटअघि लोसन वा मोइस्चराइजरको प्रयोग गरेर मात्र खेल्नुपर्ने उनले बताए।
यसैगरी केमिकल्सयुक्त रङबाट बच्न छालामा नरिवल वा तोरीको तेलको प्रयोग गर्न सकिन्छ । होलीमा रङ खेल्नुअघि अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुरक्षा प्रदान गर्छ र छालामा रङ बस्न दिँदैन।
होलीमा रङ खेल्दा अनुहारमा रङ लाग्ने गर्दछ । यस्तो रङ पखाल्नका लागि छालामा साबुनको प्रयोग गर्न नहुने कर्णले बताए। उनका अनुसार, रङ निकाल्न छाला बेस्सरी रगड्नुहुँदैन।
रङ गएन भने आत्तिएर छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्न नहुने उनको सुझाब छ।
Shares
प्रतिक्रिया