छापा खबर


पिर्का र टेबुलमा उभिएर सलामी ! यसरी बदनाम हुँदैछन् जनप्रतिनिधि

पिर्का र टेबुलमा उभिएर सलामी ! यसरी बदनाम हुँदैछन् जनप्रतिनिधि

नेपालखबर
असार १०, २०७६ मंगलबार २:३०,

प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन ।

निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ।

त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ । अन्य वरिष्ठ प्रहरी अधिकारीलाई अनुगमनका क्रममा जाँदा मात्र सलामी दिइन्छ।

सामान्यतया प्रहरी कार्यालयको औपचारिक भ्रमणमा मात्र सलामी दिने प्रचलन रहेको डिआइजी विश्वराज पोखरेलले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पूर्वएआइजी नवराज ढकाल सलामी विकृत बन्दै गएको बताउँछन् । ‘सलामी भनेको विशिष्ट व्यक्तिलाई सुरक्षा निकायले दिने एउटा सम्मान हो,’ उनी भन्छन्, ‘यसलाई निर्देशिका बनाएर एकरूपता दिनुपर्छ।’

निर्देशिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी दिने विकृति देखिएको उनको भनाइ छ ।

प्रहरीको चाकडीप्रथा
पछिल्लो समय सलामी उच्चपदस्थलाई दिइने सम्मानभन्दा चाकडीका रूपमा देखिने गरेको छ । सुरक्षा निकायले नेता तथा उच्चपदस्थ अधिकारीलाई प्रभावित गर्न र रिझाउन यसरी सलामी दिने गरेको छ।

पहिले सीमित उच्चपदस्थलाई रिझाउँदा पुग्थ्यो, तर अहिले स्थानीय तहदेखि संघीय सरकारका अधिकारीलाई समेत प्रहरीले सलामी दिनुपरिरहेको छ । स्थानीय तहको वार्षिक सभामा सबैजसोले सलामी लिने गरेका छन् ।

सलामीको विकृतिले शान्तिसुरक्षामै असर ल्याउने अवस्था आएको प्रहरी अधिकारी बताउँछन् । उच्चपदस्थ व्यक्ति धेरै भएको र उनीहरूलाई सलामीका लागि प्रहरीलाई स्ट्यान्डबाई राख्नुपर्दा गस्तीलगायतका काम प्रभावित हुने गर्दछन् ।

‘कोही स्कर्टिङ खोज्छन्, कोही सलामी खोज्छन्,’ एक जिल्लाका प्रहरी प्रमुख भन्छन्, ‘भिआइपीहरूको सम्मान मोहले हैरान भइसक्यो ।’

पूर्वमन्त्री प्रेमबहादुर सिंह भन्छन्, ‘मन्त्री हुँदा जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कायक्रममा गएको थिएँ, म बसेको होटलको बाहिर प्रहरीले सलामी दिन थाल्यो, बाध्य भएर लिएँ ।’

पूर्वमन्त्री अर्जुननरसिंह केसी भन्छन्, ‘मन्त्री हुँदा नुवाकोट गएको वेला घरभित्र थिएँ, बाहिर आँगनमा सलामीको तयारी भएछ, अप्ठ्यारो मानीमानी सलामी लिएँ, तर यो परम्परा हटाउनुपर्छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ भन्छन्, ‘भुइँमा उभिएर सलामी लिने कुरा भएन, स्ट्यान्डमा उभिएको हुँ, आदर्शको कुरा गर्दिनँ, काम पनि गर्ने हो, सलामी पनि खाने हो ।’

ओखलढुंगाका प्रदेश सांसद मोहनकुमार खड्का भन्छन्, ‘टेबुलमा बसौँ भन्ने अनुरोध थियो, म आफैंले पिर्का भए पुग्छ भनेको हुँ, पढेलेखेका मूर्खले विरोध गरेका छन्।’

टेबुलमाथि चढेर सलामी खाने धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल भन्छन्, ‘सांसदले सलामी खाएकै छन्, अरू मेयरले पनि खाएका छन्, मेरो मात्रै आलोचना किन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad