छापा खबर


पढ्न छाडेर कलिलैमा कालापहाड

पढ्न छाडेर कलिलैमा कालापहाड

नेपालखबर
पुस १, २०७६ मंगलबार २:५५,

कक्षा ७ मा पढ्ने १६ वर्षका करण सार्की शनिबार राति नेपालगन्ज नाका हुँदै भारत जान लागेका थिए।

जुम्ला सिँजा गाउँपालिका–३ नराकोटस्थित भैरवी माविका यी छात्र कक्षामा प्रथम हुँदै आएका छन्। स्कुलमा दुई महिना जाडो बिदा भएको मौकामा ‘पैसा कमाउन’ भारत जान लागेको उनले बताए।

उनका बुवा बलवीर, आमा झिमु, जेठो दाइ नन्दराज र माइलो दलसिंह भारतको उत्तर प्रदेशस्थित अजमगढमा छन्। उनीहरू त्यहाँका ग्रामीण बस्तीमा डुलेर जाडोका कपडा बेचेर आय आर्जन गर्छन्। ‘बाआमासँगै म पनि लुगा बेच्दै हिँड्छु’, करणले भने।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नेपालगञ्जबाट शंकरप्रसाद खनालले लेखेका छन्।

करणसँगै १९ बालकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले राति ९ बजेतिर नाकामा रोकेको थियो। एसएसबीले उनीहरूलाई नेपाल प्रहरीमा बुझाएको थियो। प्रहरीले सिविन नेपालगन्जको जिम्मा लगाएको छ।

तीमध्ये सबैभन्दा कम उमेरका छन्, नौ वर्षका दलसिंह सार्की। उनी कक्षा १ मा पढ्छन्। बुवा सर्णे सार्कीलाई भेट्न र उपचार गर्न जान लागेको उनले बताए।

अधिकांशले जाडो छल्न र भारतमा रहेका अभिभावक भेट्न जान लागेको बताएका छन्। उनीहरू सबै नराकोटकै हुन्। उनीहरूलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुइटा अटो रिक्सा चढाएर भारत लैजाँदै गर्दा जमुनाहा नाकाबाट उद्धार गरिएको सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरूले बताए।

यी बालक ९ वर्षदेखि १७ वर्ष उमेरका छन्। सबैभन्दा बढी १६ वर्षका सात जना छन्। १७ वर्षका ६, १४ वर्षका २ र १३, १२, ११ र ९ वर्षका १÷१ जना छन्। दलित परिवारका बालक गावैं रित्ताएर कमाउन जान लागेका हुन्। गाउँमा बाहुन–क्षेत्री बालक मात्र छन्।

नराकोटमा ४ सय ३० घरधुरी छन्। जसमध्ये ३०।२३ प्रतिशत दलित रहेको वडाको प्रोफाइलमा उल्लेख छ। त्यहाँका घरघुरीमध्ये १ सय ८ घरधुरी अति विपन्न छन्। उनीहरू मंसिरदेखि माघसम्म कमाउन भारत जान्छन्।

त्यहाँ मुख्य काम भनेको गोरखपुरमा तातो लुगा किनी गाउँ(गाउँ डुलेर बेच्ने गरेको अभिभावक दलजित नेपालीले बताए। जाडो बिदामा बालबालिकालाई पनि यही कामका लागि लैजाने गरेको उनको भनाइ छ।

उद्धार गरिएका धेरै बालकले तीन वर्ष भारत गएको बताए। ‘बर्सेनि जान्छन्। यो वर्ष धेरै जना एकै पटक जाँदै गरेको देखेपछि रोकेका हुन्’, बालक फिर्ता लिन आएका हरि नेपालीले अनुभव सुनाए, ‘यहाँबाट घर पठाए पनि जाने भनेको भारतै हो।’

संयोजक पनेरूले एकै गाउँका, एकै उमेर समूहका र एकै जातका बालक यति ठूलो समूहमा किन भारत जाँदै छन् भन्ने शंकास्पद रहेको बताए।

‘अभिभावकविहीन अवस्थामा गएका बालबालिका कुनै पनि बेला जोखिममा पर्ने खतरा हुन्छ’, उनले भने, ‘केही अभिभावकले माग्न लगाउने भनेका छन्। उनीहरूमाथि हिंसा र बेचबिखनको खतरा पनि देखिन्छ।’

बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले जाडोका कारण स्कुल बन्द भएकाले बालबालिका ‘कालापहाड’ जान लागेको बताएको सुनाए। ‘सबैका अभिभावक बोलाएर बालकलाई हामी घर फर्काउनेछौं’, एसपी ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad