छापा खबर


लोकसेवा पास गरेर जागिर वैकल्पिकलाई बेच्ने प्रवृत्ति मौलाउँदै, एउटै व्यक्तिले आठ पटकसम्म बेचेको भेटियो

लोकसेवा पास गरेर जागिर वैकल्पिकलाई बेच्ने प्रवृत्ति मौलाउँदै, एउटै व्यक्तिले आठ पटकसम्म बेचेको भेटियो

नेपालखबर
पुस ४, २०७६ शुक्रबार २:२३,

लोकसेवा आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका छन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगको नतिजा बेच्ने प्रवृत्ति मौलाएको बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा किरण दाहालले लेखेका छन्।

‘लोकसेवा जाँच दिने पेसेवर नै छन् जो पटक–पटक नाम निकाल्छन्, तर जागिर खाँदैनन्,’ सचिव गुरागाईंले भने, ‘कारण के रहेछ भनेर खोज्दै जाँदा त वैकल्पिकसँग रकम लिने रहेछन् । पास भएको व्यक्तिले नियुक्ति नलिएपछि वैकल्पिकले जागिर खान पाउने भयो । यस्तो सेटिङ हुँदोरहेछ।’

लोकसेवामा आठपटकसम्म नाम निकालेर नियुक्ति नलिएको ‘केस’ पनि भेटिएको उनले बताए।

सचिव मैनालीले लोकसेवा नतिजाको किनबेचको थप पुष्टि–उदाहरण नै पेस गरे।

‘धादिङमा एउटा केटोले सुब्बामा नाम निकाल्यो, तर नियुक्ति लिएन । पछि काठमाडौं आएर खरिदारमा जागिर खायो,’ उनले भने, ‘किन रहेछ भनेको त सुब्बाको पद वैकल्पिकमा नाम निकाल्नेसँग पैसामा साटेको रहेछ।’

गुरागाईंको भनाइमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले पनि समर्थन जनाए।

समिति बैठकमा सहभागी मैनालीले भने, ‘लोकसेवाको नतिजा किनबेच गर्ने प्रवृत्ति मौलाएको सही हो । परीक्षा पास गरेर पनि नियुक्ति नलिने अनि वैकल्पिकसँग बार्गेनिङ गर्ने अनियमितता छ । यसलाई रोक्न ऐनमै कडा व्यवस्था गर्नुपर्छ।’

लोकसेवा आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ।

नतिजा किनबेच गर्नेलाई दुई वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गर्ने व्यवस्था लोकसेवा ऐनमै गर्न लागिएको छ ।

विधेयकको दफा २९ (४) मा भनिएको छ, ‘नियुक्तिका लागि सिफारिस भएको उम्मेदवारले नियुक्तिपत्र नलिएमा त्यस्तो व्यक्ति, लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सिफारिस भएको मितिले दुई वर्षसम्म सहभागी हुन योग्य मानिनेछैन ।’

तर, समिति सदस्यहरूमा भने यो व्यवस्थामा फरक–फरक मत छ । यस्तो व्यवस्थाले इमानदार व्यक्तिलाई पनि असर पार्ने समिति सदस्य नवराज सिलवालले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad