छापा खबर


१५ वर्ष हराएका भाइसँग सुदाकाे डीएनए मिल्ला?

१५ वर्ष हराएका भाइसँग सुदाकाे डीएनए मिल्ला?

नेपालखबर
पुस १५, २०७६ मंगलबार १:४०,

सल्यान रोड, तुलसीपुर दाङकी सुदा रिजाल एक्लै हुनासाथ कल्पना गर्छिन्-०६१ जेठ २ नहुँदो त जीवन कति खुसी हुने थियो।

बुबाको संरक्षण, भाइको माया। तर, जीवन सोचेजस्तो कहाँ हुन्छ र? झन्डै डेढ दशकअघिको त्यो दिन, जसले उनलाई माइतीविहीन बनायो । उनी बिर्सन त खोज्छिन्, तर नसम्झेर कहाँ धर।

आमाको रिक्ततामा उनलाई बाले दुःखसुख हुर्काइरहेका थिए। त्यस दिन उनी घरमै थिइन्। बा चारवर्षे भाइलाई लिएर घरबाट निस्किए।

कतै काम परेर गएको ठानेर उनी आफ्नै धुनमा बसिन्। भाइ बोकेर गएका बा त्यसपछि घर फर्किएनन्। कैयौं दिन बिते तर बा र भाइको पत्तो लागेन। १२ वर्षकी सुदा त्यसपछिका दिन आफन्तको छहारीमा हुर्कंदै गइन्।

केही दिनपछि ठूलोबुबाले पत्रिकामा बा र भाइ हराएको सूचना निकाले। तर, कसैले पनि भेटिएको खबर दिएनन्। सुदाको मन भाइलाई सम्झेर पिरोलिइरह्यो।

आजको कान्तिपुरमा नयाँ दिल्लीबाट सुरेशराज न्यौपानेले लेखेको समाचार अनुसार १७ वर्षमा उनको विवाह भयो। विवाहको केही वर्षपछि श्रीमान्सँगै भारतको सिमला पुगिन्। श्रीमान् स्याउ बगानमा काम गर्थे। उनी सडकमा भेटिने बेसहारा ससाना बाबुहरू देख्दा आफ्नै भाइ पो हो कि भनेर झस्किन्थिन्। कोही–कोहीसँग त नाम र ठेगान नै सोध्थिन्।

आठ वर्षअघि उनीहरू तुलसीपुर फर्किए। बेलाबेला उनलाई बा र भाइको खोजीमा निस्कौं जस्तो लाग्थ्यो। तर, खोज्न त्यति सजिलो थिएन।

‘कहीं नाम नखुलेको लास छ भन्ने सुन्नासाथ त्यहीं पुग्थें,’ सुदा भन्छिन्, ‘कतै बेवारिसे भेटियो भने भाइ नै हो कि भन्ने लाग्थ्यो।’ रोगी बा त पक्कै यतिका वर्ष बाँचेनन् होला भन्ठानेर केही वर्षयता उनी भाइकै मात्र खोजीमा केन्द्रित हुन थालिन्।

करिब दुई वर्षअघि एक आफन्तले साँझमा घरमै आएर बुबा र भाइ भेटिएको कुरा सुनाए। उनीहरू नेपालगन्जको एउटा घरमा बसेको अपूरो सूचना दिए।

खबर सुनेको रात सुदा झिमिक्क निदाउन सकिनन्। बिहान सबेरै उठेर तुलसीपुरबाट नेपालगन्ज हान्निइन्। चर्को घामको पर्वाह नगरी घर खोजिन्। भेटेजति मान्छेलाई सोधिन्। तर, प्रयास व्यर्थै भयो। आफन्तले दिएको सूचना मिलेन। उनी निराश भएर फर्किइन्।

त्यसको केही महिनापछि कसैले उनलाई सुनायो, दाङको घोराहीमा एउटा केटा छ रे। सानै उमेरमा बुबासँग घरबाट निस्केको रे। उनी घोराही नै पुगिन्। तर, त्यो केटाको विवरणसँग भाइको विवरण मेल खाएन।
रोजगारीका निम्ति दुबई पुगेका श्रीमान्ले उतैबाट सुनाए, ‘काठमाडौंको होटलमा एउटा केटा छ रे, सानैमा बुबासँगै घरबाट निस्केको, कतै तिम्रो भाइ नै पो हो कि?’

दसैंको चटारोले छोपेको थियो। उनी सबथोक छाडेर अष्टमीका दिन काठमाडौं पुगिन्। श्रीमान्ले भनेको होटलमा पुगिन्। सोधखोज गर्दा श्रीमान्ले भनेको मान्छे त्यहाँ थिएन।

तीन महिनाअघिको एउटा खबरले भने उनको जीवनमा भिन्न किसिमको खुसी सञ्चार गरायो। घरमै बसिरहेका बेला छिमेकी दिदीले सुनाइन्, ‘न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’मा एउटा बच्चाको फोटो देखाएको थियो, मलाई त तिम्रो भाइजस्तो लाग्यो।’

उनले युट्युबमा कार्यक्रम हेरिन्। त्यसमा भारतको राजधानी दिल्लीछेउ आश्रममा बस्ने, अभिभावकको परिचय नखुलेको एक नेपाली किशोरका बारेमा जानकारी दिइएको थियो।

कार्यक्रममा किशोरका बाल्यकालीन केही तस्बिर पनि देखाइएको थियो। उनको भाइको नाम दशरथ थियो। कार्यक्रममा देखाइएको किशोरको नाम अनिल। तैपनि उनलाई किनकिन त्यो किशोर आफ्नै भाइजस्तो लाग्यो। उनले मन बुझाइन्, भाइले नाम फेर्‍यो होला।

अनेक यत्न गरेर उनले टेलिभिजनका सम्बन्धित व्यक्तिको नम्बर खोजिन्। कार्यक्रम उत्पादकले मानव बेचबिखनविरुद्ध काम गर्दै आएको दिल्लीस्थित संस्था केआई नेपालका प्रतिनिधि नवीन जोशीको नम्बर दिए।

ती किशोरको सूचना उनैले टेलिभिजनलाई दिएका रहेछन्। आश्रमको अभिलेखअनुसार सन् २००७ अक्टोबर ८ मा दिल्लीको त्रिलोकपुरीमा एउटा मन्दिरअगाडि रुँदै गरेको अवस्थामा अनिल भेटिएका रहेछन्। नेपालीमात्र बोल्न जान्ने उनले आश्रमकै आश्रयमा बसेर ११ कक्षासम्म पढेका रहेछन्।

सुदाले तुरुन्तै जोशीलाई सम्पर्क गरिन् र ठूलीआमालाई लिएर जोशीलाई भेट्न दिल्ली पुगिन्। जब जोशीले अलीपुरस्थित आश्रम पुर्‍याए, उनले आफूलाई थाम्न सकिनन्। ‘वर्षौंदेखि हराएको आफ्नै भाइ भेटेजस्तो भयो। आँसु खसिहाल्यो,’ उनले सुनाइन्।

ठूलीआमाले अनिलका खुट्टा हेरेर लख काटिन्, यो त सुदाकै भाइ हो। सुदालाई पनि अनिल र आफ्नो हाँस्ने शैली मिलेजस्तो लाग्यो। उनले हिन्दीमै अनिललाई अनेक प्रश्न राखिन्। कहाँबाट आएको? कसरी दिल्ली पुगेको? यस्तैयस्तै।

तर, उनी त्यतिबेला खिस्स भइन्, जब अनिलले विगतको कुनै सम्झना नभएको बताए। सुदाको मनले भनिरहेकै थियो– यो तेरै भाइ हो। सुदाका सबै कुरा सुनेपछि अनिलले पनि आफ्नै दिदी भेटेजस्तो लागेको बताए।

त्यसपछि घरमा स–साना छोराछोरी छाडेर उनी कैयौंपल्ट अनिललाई भेट्न दिल्ली धाइन्। प्रत्येकपल्ट कम्तीमा २०–२५ हजार रुपैयाँ खर्च हुन्थ्यो। परदेशिएका श्रीमान्लाई उनी भन्थिन्, ‘पीर नमान। म भाइ भेटेर छिट्टै फर्किन्छु।’

नयाँदिल्लीको आनन्दबिहार बस अड्डाबाट रुपैडिहा जाने बस कुरिरहेकी सुदाले कुराकानीका क्रममा अनिल आफ्नै भाइ दशरथ भएको दोहोर्‍याइरहिन्। उनले मोबाइलमा भएको भाइका पुराना फोटा देखाइन्। अनि आश्रममा भेटेको ‘भाइ’का फोटा देखाइन्। र, अनुहारमा उत्साहको भाव समेट्दै भनिन्, ‘उस्तै त छ नि, हैन?’

उनलाई मनैदेखि भाइ भेटिएको लागे पनि त्यसको कानुनी आधार जुटाउन सजिलो छैन। सुदाका अनुसार बासँग घरबाट निस्कदा भाइ चार वर्षको थियो। आश्रमको अभिलेख हेर्दा घरबाट निस्केको तीन वर्षपछि ‘भाइ’ त्यहाँ पुगेको देखिन्छ।

दुई साताअघि २८ वर्षीया सुदा केही कागजात बोकेर दिल्ली उत्रिइन्। पछिल्लो भेटमा पनि पुराना कुरा केही सम्झिन सक्छ कि भनेर अनेक प्रयत्न गरिन्।

‘बारम्बार सोध्दासमेत आफू कहाँबाट आएको, केही थाहा नभएको बतायो,’ उनले भनिन्। अनिलले घरपरिवारका बारेमा बताउन नसकेकाले सुदा नै उनकी दिदी हुन् भन्नेबारे भरपर्दो आधार देखिएन।

जसले गर्दा आश्रमले सुदाको जिम्मा लगाउन मानेन। यो निर्णय सुनेपछि उनी भरंग भइन्। छुट्टिने बेलामा उनका आँखा त रसाए नै, अनिलका आँखा पनि ओभाना भएनन्।

त्यसो त टीभी कार्यक्रममा अनिलबारेको खबर सार्वजनिक भएपछि काभ्रेको एक परिवारले पनि आफ्नै परिवारको सदस्य हुन सक्ने भन्दै दिल्ली पुगेर अनिललाई भेटेको रहेछ। रौतहटको त्यस्तै अर्को परिवारले उसैगरी अनिललाई आफ्नो दाबी गरेको रहेछ। ती परिवारले अनिल हराएको छोरा हुन सक्ने दाबीसहित आश्रममा निवेदन दिएका छन्।

अनिलमाथि फरक–फरक परिवारको दाबीपछि अलीपुर जिल्लास्थित बालकल्याण समितिले डीएनए परीक्षणबाट मात्र दाबी प्रमाणित गर्न सकिने निर्णय गरेको छ।

दिल्लीस्थित नेपाली दूतावासले पनि त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न केआई प्रतिनिधि जोशीलाई स्वीकृति दिएको छ। डीएनए परीक्षणको मिति भने अहिलेसम्म तय भएको छैन। सम्भवतः एक महिनाभित्र डीएनए परीक्षण हुने छ। तीनै परिवारसँग डीएनए मिलेन भने अनिल अझै एक वर्ष समितिको निगरानीमा आश्रममै रहनेछन्।

भाइ भेटिएको आशाको त्यान्द्रोमा झुन्डिएकी सुदालाई यतिबेला एउटै चिन्ता छ, डीएनए मिल्छ कि मिल्दैन। मिल्यो भने त भाइसँगै खुसीको बहार मिल्नेछ। मिलेन भने झुन्डिरहेको आशाको त्यान्द्रो पनि च्वाट्टै चुँडिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad