समाज


नेपाल प्रवेश गर्‍याे शक्तिशाली पश्चिमी वायु, सतर्क रहन माैसमविद्काे सुझाव

नेपाल प्रवेश गर्‍याे शक्तिशाली पश्चिमी वायु, सतर्क रहन माैसमविद्काे सुझाव

नेपालखबर
पुस १५, २०७६ मंगलबार १:२६,

केही दिन उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको छ। जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली सोमबार बेलुका नेपाल प्रवेश गरेको हो। पश्चिमबाट भित्रिने यो पश्चिमी न्यून चापीय प्रणालीको हल्काफुल्का प्रभाव रातिदेखि नै सुरु भइसकेको उनले जानकारी दिइन्।

‘यो अलि बलियै खालको प्रणाली हो,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्, ‘यसले अलि दिन प्रभाव जमाउने देखिन्छ, त्यसबारे हामी क्रमशः बुलेटिन प्रकाशन गरेर जानकारी गराइरहन्छौं।’

महाशाखाका अनुसार यस प्रणालीका कारण आज (मंगलबार) नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।

यो प्रणाली बुधबार अझै सशक्त हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। बुधबार देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना छ। उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशभर बदली भई तापक्रममा गिरावट आई देशैभर चिसो बढ्ने उनले बताइन्।

साथै यस प्रणालीका कारण बुधबार र बिहीबार देशका पश्चिमी भूभागका धेरै स्थान र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले विशेष बुलेटिन नै जारी गर्दै भनेको छ : उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने र तापक्रममा गिरावट पनि हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारणलगायत सबैमा अनुरोध गरिन्छ।

माैसमविद्का अुनसार वर्षा याममा पूर्वी र हिउँद याममा पश्चिमी वायु चल्छ। यस हिसाबले अहिले हिउँदको समयमा पश्चिमी वायु जहिले चलिरहेको हुन्छ। खासमा भित्रिने भनेको चाहिँ यस वायुबाट विकास हुने पश्चिमी न्यून चापीय प्रणाली हो।

अहिले भारतबाट नेपाल प्रवेश गरेको पनि न्यून चापीय प्रणाली नै हो। तर बोलीचालीमा सर्वसाधारणले बुझ्ने भाषामा पश्चिमी वायु नै भन्ने चलन भएकाले यसो भनिएको मौसमविद् बासीको भनाइ छ। 

तराईमा दुई दिन घाम लाग्ने, जाडो घट्ने
हुस्सु/कुहिरोका कारण केही दिनदेखि घामको मुखसमेत देख्न नपाएका तराईवासीले भने याे माैसमी प्रणालीबाट केही राहत पाउने भएका छन्।

मौसमविद् बासीका अनुसार न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुने भएकाले दुई दिन मंगलबार र बुधबार तराई क्षेत्रमा हुस्सु/कुहिरो हट्ने भएको हो।

‘आजै बिहानदेखि तराई क्षेत्रमा हुस्सु ह्वात्तै घटिसक्यो,’ नेपालखबरसँग उनले भनिन्, ‘भोलि पनि तराईमा हुस्सु/कुहिरो खासै लाग्दैन, आज र भोलि तराईमा घाम लाग्ने देखिन्छ।’

यसले लगातार हुस्सु/कुहिरोको कारण चिसो बढेर कष्टकर जीवन बिताइरहेका तराईवासीलाई यो दुई दिन केही राहत हुने उनले बताइन्।

‘तर बुधबार साँझदेखि भने यो प्रणाली सशक्त भई हिमपात र वर्षा सुरु हुने भएकाले देशभर चिसो बढेसँगै फेरि तराईमा पनि जाडो बढ्छ,’ उनले भनिन्।

काठमाडौंमा पनि वर्षा हुने
पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अन्य स्थानसँगै काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ।

‘बिहीबार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ, तर एकदम कम छ,’ माैसमविद् मञ्जु बासीले भनिन्, ‘शनिबार भने वर्षाको एकदमै धेरै सम्भावना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad